गृहपृष्ठ नेपालमा फेरी ह्वात्तै बढ्यो संक्रमित र मृतकको संख्या, हेर्नुहोस आज कति थपिए ?
नेपालमा फेरी ह्वात्तै बढ्यो संक्रमित र मृतकको संख्या, हेर्नुहोस आज कति थपिए ?
नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हिजो बिहिबारभन्दा १० ले बढी हो । बिहिबार ३३ जनाको मृत्यु भएको थियो ।
त्यस्तै गत आइतबार भन्दा यो संख्या दोब्बरभन्दा बढी हो । आइतबार २० जना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको अनुसार गत आइतबार यताको तथ्यांक हेर्दा आइतबार २०, सोमबार १८, मंगलबार १२, बुधबार १८ र बिहिबार ३३ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ९३६ कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।
गत २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।





