गृहपृष्ठ सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला पाँच लाख ५० हजार धरौटीमा छुटे
सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला पाँच लाख ५० हजार धरौटीमा छुटे
रुपन्देही,८ भाद्र । जवरजस्तीकरणी उद्योग आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।
अदालतका स्रेतेदार शोभाकर खरेलले अदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको जानकारी दिए । ‘आज दुबै पक्षको बहसपछि अदालतले उहाँलाई धरौटी रकम मागेको थियो’, उनले भने, ‘आदेश बमोजिमको रकम बुझाएर रिहा हुनुभएको छ ।’
थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।
सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले अफूलाई जवरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेका थिए । प्रहरीले करिब दुई हप्ताको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले सोमबार अदालतमा शुक्लाविरुद्ध जवर्जस्तीकरणी उद्योगमा अभियोग दायर गरेको थियो । हिजो ढिला हुँदा थुनछेक बहस भएको थिएन । मंगलबार थुनछेक बहसपछि शुक्ला धरौटीमा रिहा भएका हुन् ।





