२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ पत्रकार चौहानको छोराछोरीलाई मुख्यमन्त्री केसीले व्यवस्थापन गर्ने

पत्रकार चौहानको छोराछोरीलाई मुख्यमन्त्री केसीले व्यवस्थापन गर्ने

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आर्थिक अभावका कारण समयमा उपचार नपाएर ज्यान गुमाएका पत्रकार बिन्दु कुमार चौहानको छोराछोरीको व्यवस्थापन गर्ने भएका छन् ।

शनिबार परिवारलाई समवेदना दिन लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नम्बर ११
मोगलहा चोक चौहान परिवारको निवासमा पुगेका केसीले दयनीय आर्थिक अवस्था देखेपछि
उनका छोराछोरीलाई व्यवस्थापन गर्ने बताएका हुन् । चार छोरा, तीन छोरी र श्रीमतीका अभिभावक चौहानको भदौ २९ गते उपचारको क्रममा निधन भएपछि उनको परिवार बिचल्लीमा परेको थियो । २०५५ सालबाट पत्रकारिता गरेका चौहान नेपालका विभिन्न मिडियामा निरन्तर श्रमजीवी पत्रकार हुन् । जनयुद्धकालमा सुरक्षाकर्मीबाट समेत यातना झेलेका चौहानको निधन भने आर्थिकम अभावको कारण भएको थियो ।

निमोनियाका कारण स्वास्थ्यमा जटिल समस्या आएपछि सरकारी अस्पताल खोज्दै तौलिहवा
अस्पताल हुदैं प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो । प्रादेशिक अस्पताल बुटवलमा उनको स्वास्थ्य अवस्था गम्भीर भएको थाहा पाएपछि नेपाल पत्रकार महासंघ रुपन्देही शाखा, लुम्बिनी प्रेस क्लब र प्रेस संगठन नेपालको पहलमा सुविधा सम्पन्न अस्पताल युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानीगाउँ भैरहवामा उपचारका लागि लगिएको थियो ।

तर उनको स्वास्थ्य अवस्था निकै जटिल भएका कारण अस्पताल भर्ना गरेको दुई दिनपछि २९
भदौमा निधन भएको थियो । आर्थिक अभावका कारण सुबिधा सम्पन्न निजि अस्पतालमा
उपचार गर्नको लागि लैजान नसकेको परिवारले सरकारी अस्पताल खोज्दा खोज्दै समयमा
उचित उपचार नपाएर पत्रकार चौहानको निधन भएको हो ।

आफ्नो जीवनभर निस्वार्थ, निशुल्क सेवामा लागिरहने चौहान आफ्नो व्यक्तिगत रुपमा भने आर्थिक उन्नति गर्न सकेका थिएनन् । माओवादी नेता पम्फा भुसाल संगसंगै काम समेत गरेका चौहानलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत नजिकबाट चिन्दछन् ।

४९ वर्षीय चौहानको निधनसंगै उनको परिवारले आर्थिक झमेला व्यहोरिरहेको छ । सबैसंग मिल्ने अतिमिलनसार सहयोगी भावनाका शालीन स्वभावका पत्रकार चौहानको निधनसंगै विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गर्दै उनको मृतआत्मा प्रति श्रद्धान्जली दिएका छन् । घरमा एक अपाङ्ग अशक्त छोरी समेत रहेका चौहानका छोराछोरीको व्यवस्थापन मुख्यमन्त्रीले गर्ने आश्वासन दिएपछि स्थानीय जनसमुदायमा लुम्बिनी प्रदेश सरकार प्रति आशा र भरोसा देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार