२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ पूर्ण डोज खोप नलाएकाहरू दसैँमा घर सरासर जान नपाउने

पूर्ण डोज खोप नलाएकाहरू दसैँमा घर सरासर जान नपाउने

दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । वैदेशिक रोजगारी र शैक्षिक सिलसिलामा गएका तथा उतै स्थायी आवासीय सुविधा (पीआर) पाएका गैरआवासीय नेपालीहरू (एनआरएनए) हरू चाडपर्वको छेको पारेर नेपाल आउन थालेका हुन् ।

असोज लागेसँगै विदेशबाट आउने नेपालीहरूको सङ्ख्या निकै बढेको त्रिभुवन विमानस्थल, अध्यागमन विभागले जनाएको छ । अध्यागमनमा रेकर्ड भएको तथ्याङ्क अनुसार पछिल्ला चार दिन (असोज १ देखि ४ गते) भित्रै करिब १० हजार नेपालीहरू स्वदेश फर्किसकेका छन् ।

असोज १ गते २३ सय ९५ जना आगमन भएकोमा २ गते २४ सय ६८ जना, ३ गते २५ सय ६० जना र हिजो अर्थात् असोज ४ गते २७ सय २० जना नेपालीहरू हवाई मार्ग हुँदै स्वदेश फर्किएको विभागका प्रमुख सुनिल वैद्यले जानकारी दिए ।

गत महिनासम्म नेपाल भित्रिनेहरुको सङ्ख्या दैनिक सरदर १४–१५ सयको हारहारीमात्र थियो । दैनिक चार–पाँच हजारको सङ्ख्यामा नेपालीहरू बाहिरिइरहेका थिए । तर, दसैँ–तिहारजस्ता ठुला चाडपर्वहरू नजिकिएसँगै बाहिरिनेको सङ्ख्यामा कमी आएको र भित्रिनेहरूको सङ्ख्या बढेको वैद्यको भनाइ छ ।

‘केही दिनअघिसम्म स्वदेश भित्रिनेहरूको सङ्ख्या अत्यन्त न्यून थियो । दैनिकजसो चार–पाँच हजारको सङ्ख्यामा नेपालीहरू बाहिरिइरहँदा मुस्किलले दिनमा १२ देखि १५ सय नेपालीहरू मात्र स्वदेश भित्रिइरहेका थिए । तर, पछिल्ला दिनमा यस्तो सङ्ख्या विदेशिने भन्दा फर्कने (आगमन) हुने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । यो क्रम अझ बढ्नेछ,’ वैद्यले भने ।

चाडपर्वलाई नै लक्षित गर्दै नेपालीहरू धमाधम स्वदेश फर्किन थालेपछि हवाई कम्पनीहरूलाई पनि नेपाली अकुपेन्सी (यात्रुहरू) बोक्न भ्याइनभ्याई पर्न थालिसकेको छ । यसैलाई मध्यनजर गर्दै केही अन्तरराष्ट्रिय हवाई कम्पनीहरूले त आफ्नो हवाई उडान समेत बढाएका छन् । खाडी मुलुक साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) सँगै मलेसिया लगायतबाट नेपालमा दैनिक उडान भर्दै आएका कतार एयरवेज, एयर दुबई, एयर थाई र टर्किस् एयरलाइन्स लगायतले आफ्नो दैनिक उडान वृद्धि गरेका हुन् ।

यता नेपालको आफ्नै ध्वजावाहक ‘नेपाल एयरलाइन्स’ ले समेत उडान सङ्ख्या वृद्धिको योजना बनाइरहेको छ । चाडपर्व लागेसँगै नेपाली अकुपेन्सीमा झण्डै ४० प्रतिशतले वृद्धि भएको एयरलाइन्सहरूको भनाइ छ ।

अध्यागमन सुरक्षा व्यवस्था कडा

दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्वहरू मनाउन विदेशबाट ठुलो सङ्ख्यामा नेपालीहरू आउन थालेपछि अध्यागमन विभागले सुरक्षा व्यवस्था कडा पार्न थालेको छ । यात्रुको चाप, अध्यागमनको सुरक्षा र व्यवस्थाका लागि अध्यागमन तयार रहेको विभागका निर्देशक झंकनाथ ढकालले रातोपाटीसँग बताए ।

‘यात्रुको चाप बढेपनि अध्यागमनमा कुनै समस्या पर्न दिनेछैनौँ । पहिले दैनिक १६–१७ हजार यात्रु आउजाउ हुँदा त अध्यागमन विभागलाई चुस्त दुरूस्त राखियो, अहिले त्यस्तो अवस्था छैन । हामी यात्रुहरूको सहजताका लागि सहज व्यवस्था मिलाउँछौँ,’ ढकालले भने ।

यात्रुहरूकै सुरक्षा र अध्यागमन व्यवस्थापनका लागि सुरक्षा व्यवस्था भने कडा पारिने उनले बताए । यात्रुहरूको पार्सल, लगेज तथा कागजपत्र छिटोभन्दा छिटो सहज र सरल तरिकाले चेकजाँच व्यवस्था मिलाइने र पूर्ण सुरक्षा प्रत्याभूति दिलाइने उनले बताए ।

७२ घण्टाभित्र गरेको पीसीआर र खोपको पूर्ण डोज अनिवार्य

नेपाल आउने यात्रुहरूका लागि अध्यागमन विभागले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्ट र पूर्ण डोज खोप लगाएको प्रमाणपत्र अनिर्वाय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो व्यवस्था अनुसार स्वदेशी तथा विदेशी जोकोही आगन्तुकले नेपाल प्रवेश गर्न ७२ घण्टा भित्रको पीसीआर रिर्पोट र पूर्ण डोजको खोप लगाएको प्रमाण ल्याउनुपर्ने अध्यागमन सहायता कक्ष (हेल्प डेस्क) का संयोजक गोपालप्रसाद पाण्डेले रातोपाटीसँग बताए । अन्यथा आगन्तुकले १० दिनसम्म होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने उनको भनाइ छ ।

‘स्वास्थ्य सुरक्षा तथा सुव्यवस्थाको मामलामा त्रिभुवन विमानस्थल अध्यागमन हेल्थ डेक्स कटिबद्ध छ । पूर्ण चेकजाँच विना एकजना पनि छिर्न पाउँदैनन्, सक्दैनन् । स्वास्थ्य सुरक्षालाई नै ध्यानमा राख्दै हामीले पछिल्लो पटक सरकारले जारी गरेको मापदण्ड अनिवार्य कार्यान्वयनमा ल्याएका छौँ । जो नेपाल आउन चाहन्छ ः उसले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्टका साथमा पूर्ण भ्याक्सिनेटको प्रमाण पेस गर्नुपर्छ । अन्यथा ः नियमअनुसार नै हामी जो कोही आगन्तुकलाई १० दिन बस्नुपर्ने गरी होटल क्वारेन्टिमा पठाउँछौँ,’ पाण्डेले भने ।

स्वास्थ्य सुरक्षालाई नै मध्यनजर गर्दै सरकारले त्रिभुवन विमानस्थलको हेल्प डेक्समा पाण्डेको नेतृत्वमा ४० जना जनशक्ति खटाएको छ । अहिले अध्यागमन हेल्प डेक्सको सुव्यवस्था मौजुदा जनशक्तिले भ्याइरहेको, तर दसैँ–तिहारमा हुने सम्भावित चापलाई धान्न नसके थप जनशक्ति माग गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार