गृहपृष्ठ प्रहरीको गुनासाे पेटिका स्थानीय तहको वाड वाडमा
प्रहरीको गुनासाे पेटिका स्थानीय तहको वाड वाडमा
ज्ञानेश्वर साहनी,नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले पश्चिम नवलपरासीका सबै स्थानीय तहको प्रत्येक वडाहरुमा गुनासो पेटिका राख्ने अभियान सञ्चान गरेको छ । रामग्राम नगरपालिकामा बुधबार गुनासो पेटिका राखेर प्रहरीले यो अभियान सुरुवात गरेको हो । जिल्ला प्रहरी कार्यालयले राख्न लागेको गुनासो पेटिका जिल्लाका ७ स्थानीय तह र ७४ वडामा राखिने छ ।
गुनासो पेटिका राख्ने अभियानको सुरुवात गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले यस अभियानबाट प्रहरी मेरो साथी अभियान तथा जनताले प्रहरीसँग गरेको अपेक्षा र सुधार गर्नुपर्ने विषयलाई सहजीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज कुमार यादवले प्रहरी समक्ष पुगेर प्रत्यक्ष रुपमा आफ्ना समस्या राख्न धक, डर मान्ने सर्वसाधारणलाई गुनासो पेटिका सुझाव र उजुरी सुन्ने माध्यमका रुपमा रहने बताउनुभयो ।

जनतासँग नजिक हुन प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गराउँदै प्रहरी उपरीक्षक यादवले सामुदायिक प्रहरी साझेदारीको अवधारणलाई अझ बढी प्रभावकारी गराउन गुनासो पेटिकाले थप सहयोग पुग्ने विश्वास लिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार अभियान सञ्चालन गरिएको हो ।
गुनासो पेटिकामा आएका सुझाव र उजुरीलाई हरेक महिनामा खोलिने र त्यसलाई कार्यान्वयमा लगिने प्रतिबद्धता जनाउनुभयो । त्यसरी आएका गुनासा र सुझावलाई सोझै जिल्ला प्रहरी प्रमुखदेखि प्रदेशहुँदै प्रधान कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभएको छ ।







