गृहपृष्ठ दुई महिनाकी गर्भवतीको हत्या भएको आशंकामा प्रहरीले गाडेको शव निकालेर थाल्यो अनुसन्धान
दुई महिनाकी गर्भवतीको हत्या भएको आशंकामा प्रहरीले गाडेको शव निकालेर थाल्यो अनुसन्धान
कपिलवस्तु। दुई महिनाकी गर्भवतीको हत्या भएको आशंकामा प्रहरीले गाडेको शव निकालेर अनुसन्धान थालेको छ । यशोधरा गाउँपालिका–८ सिंहोखोरकी २१ वर्षीया रहिसुननिशा मुसलमानलाई झुन्ड्याएर हत्या गरेको दाबी गर्दै उनका बाबु असगरअली मुसलमानले प्रहरीमा जाहेरी दिएपछि गाउँ नजिकै कर्बलामा गाडिएको शव निकाल्न प्रहरी पुगेको हो । शनिबार शव उत्खनन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अपराध अनुसन्धानमा दखल राख्ने प्राविधिक प्रहरीको उक्त टोलीले मृतकको फिंगर प्रिन्ट लिने, शव उठाउने र फोटो लिने लगायतका काम गरेको थियो । गाडिएको शव झिक्दा जिल्ला अस्पताल तौलिहवाका मेडिकल अधिकृत डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेल र निमित्त प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारी पनि उपस्थित थिए ।
शव पोस्टमार्टम गर्न आइतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।
‘घटना शंकास्पद छ,’ डीएसपी भण्डारीले भने, ‘जिल्लामा पोस्टमार्टमको विषय विज्ञ नहुँदा बुटवल पठाइएको हो ।’ शवबाट भिसेरा झिकेर परीक्षणका लागि प्रहरीको प्रयोगशाला नेपालगन्ज पठाइएको छ । दुई महिनाकी गर्भवती रहेकी उनको मृत्युपछि माइती पक्षलाई खबर नगरी गाउँमै गुपचुप शव गाडिएको थियो । छरछिमेकले समेत थाहा नपाएको बताएका छन् । नजिकका दुई–चार जना आफन्त बोलाएर मुस्लिम धार्मिक परम्पराअनुसार संस्कार गरिएको थियो । गाउँलेले नै भारतीय सीमा क्षेत्रको गाउँ अटकोनिया बस्ने मृतकका बाबुलाई खबर गरेपछि उनी आएर प्रहरीमा जाहेरी दिएका हुन् ।
मृतकका बाबुले सीमा प्रहरी चौकी मर्यादपुरका प्रमुख नायब निरीक्षक तक्की खानलाई छोरीको हत्या भएको भन्दै सूचना दिएका थिए । खानले चासो नलिएपछि बाबु जिल्ला प्रहरीमा आएर जानकारी दिए । त्यसपछि जिल्लाबाट गएको टोलीले शव निकालेको हो । शरीरमा चोटपटक नभए पनि घाँटीमा डाम देखिएपछि आशंका उब्जिएको छ । कानुनी प्रक्रिया नपुर्याई गुपचुप शव गाडिएकाले आशंका उब्जिएको प्रहरी भनाइ छ । पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने डीएसपी भण्डारीले बताए ।
प्रहरीले २२ वर्षे श्रीमान् मोहम्मद नसिम अलिभाट मुसलमान र ५० वर्षे ससुरा अब्बास अलिभाट मुसलमानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको गत जेठमा विवाह भएको थियो । मृतकसँग घरपरिवारको बारम्बार झैंझगडा भइरहने स्थानीयले बताएका छन् । उनी माइतीकी एक्ली सन्तान थिइन् ।






