२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामुलक र्याली

विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामुलक र्याली

बुटवल । विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामुलक र्याली निकालिएको छ । सन् १९९९ मा पहिलो पटक मनाउन शुरु गरिएको मुटु दिवस हरेकवर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मनाउने गरिन्छ। सोहि अनुसार यसवर्ष पनि आफ्नो मुटु पनि स्वस्थ राखौं र अरुको मुटुपनि स्वस्थ राखौं भन्ने नारासहित बुटवलमा पनि मुटु दिवस मनाईएको हो। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको ¥यालीमा रुपन्देहीमा रहेका विभिन्न रोटरी तथा रोट्र्याक क्लब तथा सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको थियो। बुटवल र तिलोत्तमा नगरपालिकाको संगमस्थल योगिकुटीचोकबाट व्याण्डबाजा सहित निकालिएको र्याली राजमार्ग चौराह, मिलनचोक हुँदै नयाँ बसपार्क पुगेरसमापन गरिएको थियो। र्यालीमा सहभागिहरुले मुटुरोग तथा हृदयघातबाट कसरी जोगिन सकिन्छ भनी लेखिएका विभिन्न सचेतनामुलक प्लेकार्ड बोकेका थिए।

र्यालीपछि आयोजित कोणसभामा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले आफ्नो जिवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए। उनले पछिल्लो समय नेपालमा मुटुरोगीहरुको संख्या बढ्दै गएको भन्दै धुम्रपान मुटुरोगको मुख्य कारण बन्दै गएको उल्लेख गर्दै धुम्रपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोंसो लगायतको सेवनलाई रोक्न सके मुटुरोग लाग्नबाट जोगिन सकिने बताए। डा. गौतमले धुम्रपानसँगै चिल्लो, गुलियो र नुनिलो यी तिन चिजलाई कम गर्न सके मुटुरोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिने बताए। मुटुरोगको लागि बढावा दिने मधुमेह र मोटोपनको समस्या छ भने त्यसको पनि समयमै उपचार गर्न उनले सुझाव दिए।

अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तिमा एकपटक भएपनि स्वास्थ्य परिक्षण गरी भविश्यमा हुन सक्ने स्वास्थ्य समस्याबाट सचेत बन्न आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अहिले नसर्ने रोगसँगै विभिन्न प्रकारका सर्ने रोगहरुका कारण मानिसहरु आक्रान्त भईरहेको उल्लेख गर्दै सबै प्रकारका रोगहरुलाई कम गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताईन्। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मुटु दिवसको अवसरमा बुधवार बुटवलमा म्याराथन दौड समेत आयोजना गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार