गृहपृष्ठ माधवकाे आदेशविना ओलीसंग बार्ता गर्ने सबैभन्दा खतरनाक
माधवकाे आदेशविना ओलीसंग बार्ता गर्ने सबैभन्दा खतरनाक
एमाले एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले त्यसलाई धोखाको संज्ञा दिएका छन् ।
एमालेको माधवपक्षीय समानान्तर भ्रातृ संगठनहरुको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने बताएका छन् ।
माधव नेपालको प्रमुख आतिथ्यमा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव माधव नेपाललाई दिएका छन् ।
एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता आउन उनीहरूले आग्रह गरेका छन् ।
बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले भने, ‘एकता र वार्ताका नाममा अलमलिँदा हाम्रै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गर्नुभएको छ ।’
माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक हुन् भन्दै ओली एकता विरोधी हुन् भन्ने कुरा बाहिर स्थापित गरेर पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिए ।
सहअध्यक्ष ओसिम आलमले बैठकमा भने, ‘माधव नेपालले सही गरेको ठाउँमा सही नगर्ने नेताहरु केपी ओलीभन्दा खराब हुन् । हामीलाई हाम्रै नेताहरुबाट धोखा त भइरहेको छैन रु’
किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने बताएको बैठकका एक सहभागीले जानकारी दिए । बैठकका सहभागीको आक्रोश सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरूले गरिरहेको वार्ताप्रति केन्द्रित देखिएको छ ।
बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताका नाममा फेरि पनि केपी ओलीले अल्मल्याउने सम्भावना रहेको बताए ।
उनले भने, ‘केपी ओलीले जब(जब राजनीतिक घटनाक्रम आफू प्रतिकूल हुन्छ, तब तब एकताका नाममा अल्मल्याउने रणनीति अवलम्बन गरेका हुन् । अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको मुद्दाका २८ रिट निवेदक हाम्रा नेता हुनुहुन्छ । त्यो मुद्दाबाट २८ जनालाई फिर्ता गराएर मुद्दा फितलो गराउने चालबाजी हो ।’
माधव पक्षका २३ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा सहभागी अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राईले भने पार्टी एकताकै लागि आफूहरूले जोड दिएको नेपाल प्रेसलाई बताइन् ।
राईले भनिन्, ‘डेडलाइन तोकेर एकता गर्नुपर्छ भन्ने सुझाव हामीले माधव कमरेडलाई दिएका छौं । हामी कार्यकर्ताका लागि त नेताहरू मिलेको र पार्टी जुटेकै राम्रो हो नि ।’






