२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ अध्यादेशबाट बजेट ल्याउने कसरतमा लुम्बिनी सरकार

अध्यादेशबाट बजेट ल्याउने कसरतमा लुम्बिनी सरकार

बुटवल– प्रदेश सभाबाट बजेट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशशबाट बजेट ल्याउने कसरत सुरु गरेको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव एमाले निकट हुन् । यसैको मौकामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने कसरतसाथ तयारी थालेको हो ।

विपक्षीसँग सहमतिको प्रयास नगरी रातारात प्रदेश सभाको बैठक स्थगित गर्नुले पनि यसको संकेत गर्छ । बिहीबार आर्थिक वर्ष २०७८-०७९ को बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिइसकेपछि विपक्षी गठबन्धनसँग मुख्यमन्त्रीले परामर्श गरेनन् ।

उल्टै मन्त्रिपरिषद बैठक राखेर अधिवेशन अन्त्यको सिफारिस गरे र प्रदेश प्रमुखले त्यसलाई स्वीकृत गरे । विगतमा संघमा ओली सरकारका हरेक निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले लाहाछाप लगाए जसरी लुम्बिनीमा पनि प्रदेश प्रमुखले मुख्यमन्त्रीको निर्णय कार्यान्वयन गर्दै आएका छन् ।

गएराति १२ बजेबाट लागू हुनेगरी सरकारको सिफारिशमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरेका छन् । अध्यादेशबाट बजेट ल्याउन कर्णाली प्रदेशमा पनि प्रदेश प्रमुखलाई सिफारिस गरिएको छ । उस्तै अभ्यास लुम्बिनीमा पनि भएको छ ।

यसअघि देखि नै मुख्यमन्त्री पोखरेलको नियुक्ति असंवैधानिक भएको र उनी स्पष्ट अल्पमतमा रहेको भन्दै विपक्षीले उनको विरोध गर्दै आएका थिए । तर, यस विषयमा पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिन भने चाहेनन् । बरु, पेलेरै अघि बढीरहेका छन् । यसले विपक्षीलाई झनै आक्रोसित बनाएको छ ।

बिहीबार बजेट पास हुने अन्तिम दिन एमालेका सांसदले प्रदेश सभा बैठक नै बहिस्कार गरेका थिए । सदनमा बजेट पास गर्न बहुमत नपुगेपछि एमालेले थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । तर उसले छलफलको कुनै प्रयास गरेन ।

छलफलका लागि सभामुखले आधा घण्टाको समय दिए पनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति प्रयास भएन । सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेश सभा बैठक सूचना टाँसेर शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको थियो । तर, रातारात प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिएको छ । यसले मुख्यमन्त्रीमाथि नैतिक प्रश्न उठेको छ ।

सत्ता जोगाउन जुनसुकै हत्कण्डा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली जस्तै लुम्बिनीमा पनि पोखरेलले उसैगरी अभ्यास थालेका छन् । बजेट पास नभए मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बाध्यता हुन्छ । नैतिक प्रश्नबाट बच्न उनले रातारात अधिवेशन अन्त्य गरेका छन् । र, अध्यादेशबाट बजेट ल्याउने कसरत सुरु गरेका छन् ।

८३ सदस्यीय प्रदेश सभामा सत्तारुढ एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद् छन् । विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपा उपेन्द्र यादव पक्षका ३ जना र राष्ट्रिय जनमोर्चाका १ गरी ४२ जना सांसद छन् । यसैमा पनि सत्तापक्षका सांसद अजय शाही मुख्यमन्त्रीको विपक्षमा उभिएका छन् । उनी हिजोको बैठकमा सहभागी भएनन् । यसले मुख्यमन्त्रीलाई झनै अप्ठ्यारो परेको छ ।

एमाले एक प्रदेश सभा सदस्यले आफूहरु स्पस्ट बहुमतमा भएको दावी गरे । उनले विपक्षीले भनजस्तै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिन नपर्ने र नियुक्ति पनि संविधान सम्मत् भएको बताए । बजेट पास गर्न अवरोध हुने देखिएपछि प्रदेश सभा अधिवेशन अन्त्य गरिएको उनले जनाए । अब, सम्भवतः अध्यादेशबाट बजेट आउने उनले जनाए । यसका लागि तयारी सुरु भएको उनले भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार