गृहपृष्ठ आफ्नै गुटका २ जनाको दबाबमा : केपी ओली
आफ्नै गुटका २ जनाको दबाबमा : केपी ओली
निकै बिवादित र लगभग फुटको सन्निकट पुगेको नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल समूहको हिजो र आज बसेको केन्द्रीय कमिटी बैठकले पनि एकताको लागि अधिकतम प्रयास गर्ने निश्कर्ष निकालेको छ ।
आजको बैठकलाई समापन गर्दै नेता नेपालले अध्यक्ष ओलीले जतिसुकै गाली गरेपनि आफू एकताको लागि लचिलो बन्ने बताएका थिए । साथै, एकताको लागि सबै नेताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने पनि नेता नेपालको धारणा थियो । दिउँसोसम्म नेपाल पक्षधर नेताहरुले अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने धारणा राखेका थिए ।
ओलीले माफी नमागेसम्म एकता नगर्ने निश्कर्ष निकालिएको मेटमणि चौधरीले सुनाएका थिए । तर, बैठक सम्पन्न भएपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले भने एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालिएको सुनाएका थिए ।
खासगरी ओलीसँग नेता नेपाल बिच्किनुको कारण चाहीँ ओली आफैले एकताको लागि समान अधिकारसहित अध्यक्ष दिने प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीनिकट नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलले ओलीको प्रस्ताव लिएर माधव नेपालकहाँ पुगेका थिए । उक्त प्रस्तावमा जेठ गते फर्किने, अध्यक्ष ओली बराबरको अधिकार नेता नेपाललाई दिईने र पार्टीका निर्णयहरुमा दुवै नेताको हस्ताक्षर हुने लगायत थिए ।
तर, नेम्वाङ र पौडेलले यस्तो प्रस्ताव लिएर गएको र यसमा नेपाल पनि सहमत भएको भोलिपल्टै अध्यक्ष ओलीले भने नेता नेपाललाई देशद्रोही र लाजशरम पचेको नेताको रुपमा चित्रण गरेका थिए । ओलीले नेता नेपाललाई गद्दारसमेत करार गरेका थिए । ओलीले एकातिर एकताको प्रस्ताव पठाउने र अर्कोतिर एकताविरोधी अभिव्यक्ति दिएकोले एकता प्रक्रियामा समस्या उत्पन्न भएको उनिनिकट नेताहरुको गुनासो छ ।
कतिसम्म भने पछिल्लो समय ओलीलाई उनको तर्फबाट दूत बनेर नेपालसँग वार्ता गरेका नेताहरु नेम्वाङ र पौडेलले समेत एकताको लागि यसअघि गरेको प्रतिबद्धता पूरा गर्न भनेका छन् । एकताको लागि गम्भीर बन्नको लागि उनीहरुले ओलीलाई आग्रह गरेका छन् ।
नेता नेपालले भने आफूनिकट नेताहरुलाई एकताको लागि साउन २४ गतेसम्मको बटमलाईन दिएको बुझिएको छ । उनले पार्टी एकताप्रति अध्यक्ष ओलीको पछिल्लो अवस्था के हो ? भनेर पनि नेताहरुलाई सोधेका छन् र त्यसको जवाफ कुरेका छन् ।





