गृहपृष्ठ आफुले पाएको जिम्मेवारी जनभावना अनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु : मन्त्री झाँक्री
आफुले पाएको जिम्मेवारी जनभावना अनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु : मन्त्री झाँक्री
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएको टिप्पणी गरेकी छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली २०७८, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्री ओलीमाथि खनिइन् । उनले ओलीमा लोकतान्त्रिक चरित्र नभएको समेत जिकिर गरिन् ।
ओलीले आफ्नै बहुमतको सरकार हुँदासमेत असल शासन दिन नसकेको बताइन् । उनले ओलीको जीवनमा लोकतन्त्रको असल अभ्यास कहीँ कतै पनि नभेटिने टिप्पणी गरिन् । मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहना अनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन् । ‘मैले पाएको जिम्मेवारीलाई जनभावना अनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु’, उनले भनिन्, ‘वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्नेछ।’
कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले केपी ओलीले उद्घाटन तथा शिलान्यास गरेको कुनै पनि योजनाका आधिकारिक कागजात मन्त्रालयमा नभेटिएको र ओलीले सस्तो लोकप्रियताका लागि मात्रै ती काम गरेको पाइएको बताइन्।





