गृहपृष्ठ एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित
एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित
बैतडी, १४ पुस। बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीकाे सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो ।
गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । ‘बैतडी जिल्लाका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । अहिले हामीलाई काम गर्न निकै असहज भएको छ,’ उनले भने ।
केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिवहरूको पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताए । नयाँ भर्ना गरेकामध्ये तीनजनाबाहेक सबै कर्मचारी सरुवा भएको उनले बताए ।
दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।





