२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने

नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने

नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरबाट ७ टिमको सहभगिता रहने छ । टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् । टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् । खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले दुई वर्ष अघि नै लिग आयोजना गर्ने घोषणा गरेको थियो । तर, म्यानेजमेन्टका सीईओ सुदिप शर्माले रंगशालाको पुननिर्माण र कोरोना भाईरसको कारण लिग समयमा गर्न नसकेको बताए ।

‘रंगशाला तयार नहुँदा र कोभिड-१९ को कारण समयमा प्रतियोगिता सुरु गर्न सकेनौं । आन्तरिक तयारी र छलफलपछि लिगको घोषणा गरेका छौँ,’ शर्माले भने,’नेपाली फुटबल व्यवसायिक र निजी क्षेत्रलाई आकर्षित गर्न प्रतियोगिता गर्न लागेका हौँ ।’ कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताए ।

‘लामो समयपछि मिति तय भएको छ । दुई हप्तामा टिम तय हुनेछ । हामीले वार्षिक कार्यक्रममा दुई महिनाको समय छुट्टाएको छौँ,’ उनले भने, ‘सहकार्य र व्यवस्थित बनाउन छलफल गरिरहेका छौँ ।’ यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगिता फ्रेन्चाईजको रुपमा रहने बताउदै सहिद स्मारक लिग र नेसनल लिगलाई एन्फाले अघि बढाउने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार