इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्ट्सले अग्रता बनाएको थियो ।
खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । तर, खेलको ७७ औं मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै युभेन्ट्सले शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । युभेन्ट्स २३ खेलमा ४६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।





