गृहपृष्ठ आईपीएल: कोलकाताद्वारा हैदरावाद १० रनले पराजित
आईपीएल: कोलकाताद्वारा हैदरावाद १० रनले पराजित
१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ५ विकेट क्षेतीमा १७७ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा हैदरावाद ओपनर रिदिमान शाह ७ तथा कप्तान डेभिड वार्नर ३ रन बनाएर आउट भए। तेश्रो नम्बरमा आएका मनिष पाण्डेले तेश्रो विकेटको लागि जोनी बेयरस्टोसंग ९२ रनको साझेदारी गरे।
४० बलमा ५ चौका र ३ छक्का मद्दतले ५५ रन बनाएका बेयरस्टोलाई १३ औं ओभरमा प्याट कमिन्सले क्याच आउट गराउदै कोलकातालाई खेलमा फर्काए। १६ औं ओभरमा मोहम्मद नाबी १४ रन बनाएर प्रसिध कृष्णाबाट क्याच आउट भए। ११ रन बनाएका विजय शंकरलाई आन्द्रे रसेलले १८ औं ओभरमा क्याच आउट गराए।

अन्तिम २ ओभरमा ३८ रन आवस्यक हुँदा छैठौं नम्बरमा आएका अब्दुल समदले प्याट कमिंसले गरेको १९ औं ओभरमा २ छक्का प्रहार गरे जसको मद्दतले ओभरमा १६ रन बन्यो। अन्तिम ओभरमा आन्द्रे रसेलले मात्र ११ रन खर्चाद कोलकाताले १० रनको जित दर्ता गर्यो।
मनिष पाण्डेले अविजित ६१ रन बनाएता पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अब्दुल समदले ८ बलमा २ छक्का मद्दतले अविजित १९ रन बनाए।

कोलकाताको बलिंगमा प्रसिध कृष्णाले २ विकेट ( ४-०-३५-२ ) तथा शाकिब अल हसन ( ४-०-३४-१ ) , प्याट कमिन्स ( ४-०-३०-१ ) र आन्द्रे रसेल ( ३-०-३२-१ ) ले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो।
कोलकाताको लागि ओपनर नितिश रानाले सर्वाधिक ८० रन बनाए जुनक्रममा ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
यस्तै राहुल त्रिपाठीले २९ बलमा ५ चौका र २ छक्का मद्दतले ५३ रन बनाए। दिनेश कार्तिकले ९ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २२ रन योगदान दिए।
सनराइजर्स हैदरावादको बलिंगमा अफगानिस्तान स्पिनरद्वय राशिद खान ( ४-०-२४-२ ) र मोहम्मद नाबी ( ४-०-३२-२ ) ले समान २ विकेट तथा टि नटराजन( ४-०-३७-१ ) र भुवनेश्वर कुमार ( ४-०-४५-१ ) ले समान १ विकेट लिए।

लिग अन्तर्गत सोमबार राजस्थान रोयल्स र पन्जाब किंग्सले प्रतिस्पर्धा गर्नेछन्। कोलकाताले आगामी खेल अप्रिल १३ तारिखमा मुम्बई बिरुद्ध तथा हैदरावादले १४ तारिखमा बैंगलोर बिरुद्ध खेल्ने तालिका रहेको छ।






