२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ ‘ओमान र अमेरिकासँगको खेल कठिन हुनेछ’-कप्तान ज्ञानेन्द्र मल्ल

‘ओमान र अमेरिकासँगको खेल कठिन हुनेछ’-कप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुने बताएका छन् ।

टियु क्रिकेट मैदानमा आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै कप्तान मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन रहेको बताएका हुन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

‘ओमानले पछिल्लो समय धेरै राम्रो गरिरहेको छ । अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको छ,’ कप्तान मल्लले भने, ‘उनीहरुसँग अनुभवी खेलाडी छन् । हामीसँग अनुभव प्राप्त खेलाडी कम भएकाले गार्हो हुन्छ जस्तो लागेको छ ।’

सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

कप्तान मल्लले ओमानको मौषमले समेत खेलमा निर्भर रहने बताए ।

‘क्रिकेटमा सबैभन्दा पहिला त्यहाँको पिच देखि त्यहाँको अवस्थाले भर पर्छ । ओमानमा गर्मी बढी छ र डे नाइट खेल्नेछौँ । हामीलाई त्यो अवस्थाको बानी छैन,’ कप्तान मल्लले भन्छन् ।

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।

नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।

यस्तै कप्तान मल्लले नेपालमा टिमको तयारी प्रयाप्त नभएको बताए ।

‘तयारी सोचे जस्ती गर्न सकिएको छैन । मौषमले गर्दा हो । तर, मौषम अनुसार मिलाएर तयारीलाई अगाडी बढाईरहेका छौँ । ओमानमा गएपछि राम्रो अभ्यास हुन्छ जस्तो लागेको छ,’ कप्तान मल्लले भने ।

तयारी पूर्ण रुपमा गर्न नसकेपनि टिम राम्रै रहेको कप्तान मल्लको भनाई छ ।

‘हामी आफैले खेल खेल्न पाएका छैनौँ । नेटको भरमा टिम यहिँ भनेर भन्न अफ्ठ्यारो छ । तर, फिटनेस र टिमको आत्मविश्वास हेर्दा टिम राम्रो छ जस्तो लाग्छ,’ उनले थपे ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार