२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नेपालको जित

नेपालको जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा  बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।

बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् ।

खेलको १४ औं मिनेटमा सबिताले  गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् ।

खेलको २३ औं मिनेटमा सरु लिम्बुको पासमा प्रितीले बक्स बाहिरबाट गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन्।

त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएपनि नेपालले २-१ को जित निकाल्यो ।

बंगलादेशले नेपालविरुद्ध गरेको यो दोस्रो गोल हो  ।

प्रिती राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।

नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार