गृहपृष्ठ मनाङका प्रशिक्षक फुजा नेपाल आइपुगे
मनाङका प्रशिक्षक फुजा नेपाल आइपुगे
काठमाडौं, २१ कात्तिक। आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् ।
मंगलबार नाईजेरियन नागरिक फुजा नेपाल झरेका हुन् । मनाङले यस सिजनका लागिसमेत प्रशिक्षक फुजासँग सम्झौता नविकरण गरेको थियो ।
तर, लिग नभएपछि उनि गृहनगर रहँदै आएका थिए । लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल झिकाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
फुजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र टिम कोर्डिनेटर मिलन गुरुङ (ज्याक) ले स्वागत गरे ।
जारी लिगमा मनाङले तीन खेल खेल्दा टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ छन् । फुजाको आगमनपछि पनि मनाङको मुख्य प्रशिक्षकमा भने तामाङ नै रहनेछन् ।
फुजाले पछिल्लो दुई सिजनसमेत मनाङकै प्रशिक्षक रहेर काम गरेका थिए । २०७५ सालको लिगमा मनाङले कीर्तिमानी आठौंपटक लिग जित्दा फुजा टोलीको मूख्य प्रशिक्षक थिए ।
यद्यपि, उनी ‘ए’ लाइसेन्स नभएका कारण पेपरमा ‘हेड कोच’ नभए पनि टोलीको मूख्य रणनीतिकारका रूपमा परिचित छन् । यस्तै मनाङले २०७७ सालको लिगमा समेत फुजालाई नै निरन्तरता दिएको थियो ।
यसअघि नेपालमा भएको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा उपविजेता धनगढी एफसीको प्रशिक्षक तथा रणनीतिकारको रूपमा फुजा नै थिए । मूख्य प्रशिक्षकमा भने युगल किशोर राई रहे ।
फुजाको आगमनसँगै मनाङले लिगमा आफ्नो दाबेदारीता अझै मजबुद हुने आशा गरेको छ ।
जारी लिगमा दुई जित र एक बराबरसहित मनाङ ७ अंक जोडेर दोस्रो स्थानमा छ ।





