गृहपृष्ठ निरन्तर ४५ बर्ष अक्षर चिनाउने यि हुन् शिक्षक पूर्णजंग थापा
निरन्तर ४५ बर्ष अक्षर चिनाउने यि हुन् शिक्षक पूर्णजंग थापा
गोरखा ।
गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा रहेको जागेश्वर माध्यमिक विद्यालयले शुक्रबार शिक्षक पूर्णजंग थापाको बिदाइ गर्यो। शिक्षक थापाले उमेरहदका कारण अनिवार्य अवकास लिएका थिए। उनलाई वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासु थापा र प्रधानाध्यापक यदुनाथ सापकोटाले बिदाइ गरे। बिदाई गर्ने यी दुबै पात्र तिनै शिक्षकले कखरा सिकाएका विद्यार्थी थिए।
विसं २०३३ सालमा हालको भिमसेन थापा गाउँपालिका ७ मा रहेको पाटनदेवी माविबाट अध्यापन सुरु गरेका थापा २०७८ सुरु भएसँगै सेवा निवृत्त भए। २०३४ सालदेखि उनी अहिले बिदाइ भएको जागेश्वर माविमै अध्यापन गर्दै आएका थिए। २०४५ सालदेखि २०४९ सम्म त उनी प्रधानाध्यापक भएर पनि विद्यालय संचालन गरे। २०३६ सालमा स्थायी भएका पूर्णजंग थापाले अस्थायीसहित ४५ वर्ष विद्यालयमा बिताए।
त्यस विद्यालयमा कखरा सिकाउने, सिकाईको जग बसाउने मध्येका उनी पनि हुन्। शुक्रबार उनी विद्यालयबाट बिदाइ हुँदा र उनलाई शिक्षक विद्यार्थीले बिदाइ गर्दा सबैले उनको योगदानको स्मरण गरे। त्यस क्षेत्रबाट अहिले विभिन्न ठाउँमा रहेकाहरु उनलै सिकाएको जगबाट बलियो बन्दै अघि बढे।
पाटीपौवाबाट सुरु भएको कक्षा २०३२ पुस १ गतेबाट भने जागेश्वर प्राविको नाममा (१–३) सुरु भयो। ९० देखि एक सय जनासम्म विद्यार्थी पढ्थे। कक्षा तीन उर्तीण गरेपछि विद्यार्थी डेढ घण्टा हिँडेर सरस्वती माविमा पढ्न जान्थे। ‘२०३७/३८ मा हामीले कक्षा ४ र ५ थप्यौँ’ शिक्षक थापाले बिगत स्मरण गर्दै भने, ‘त्यतिबेला धरौटी राखेर विद्यालय खोल्नुपथ्र्यो, हामीले गाउँमा चन्दा उठाएर धरौटी राखेका थियौँ।’
२०५२ सालदेखि माध्यमिक तह सुरु भयो। विद्यालयको जग बसाउँदादेखि अहिले कक्षा १२ संचालन हुँदासम्म शिक्षक पूर्णजंग थापाले हजारौँ विद्यार्थीलाई कखरा सिकाए। पहिलो जग बसाए। ‘पहिले छाप्रोमा पढ्नुपथ्र्यो, दुई जना शिक्षकले पाँचवटा कक्षासम्म चलाएका थियौँ’ उनले भने । विद्यार्थीले पढ्ने ठाउँमा बिछ्याउन घरबाट चकटी बोकेर ल्याउँथे। भैलो खेलेर शिक्षकलाई तलब खुवाएको उनले बताए। बिस्तारै दरबन्दी थपिँदै गएपछि केही सजिलो भएको उनी बताउँछन्।
‘मैले जागिर सुरु गर्दा एक सय ४३ रुपैयाँ मासिक तलब थियो’ उनले भने ‘अहिले ग्रेड सहित ४० हजार भन्दामाथि छ।’ पहिले र अहिलेको पढाइमा पनि फरक रहेको उनी बताउँछन्। ‘अहिले अलि फ्रिडम तरिकाले विद्यार्थी पढ्छन्, पहिले कडाईका साथ लादेर पढाउने चलन थियो।’
उनले पढाएका मुक्तिनाथ ढकाल जागेश्वर माविका पूर्व प्रधानाध्यापक हुन्। पूर्व मन्त्री एकनाथ ढकाललाई पनि उनले पढाए। ‘मैले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा छन्, सबैले सम्मान, इज्जत दिन्छन्, मलाई यही ठूलो लाग्छ’ थापाले भने।
अहिले उनले अवकास लिएको विद्यालयमा अधिकांस शिक्षक उनले पढाएका विद्यार्थी छन्। पेन्सन भएलगत्तै विद्यालय छाडेको भए उनले अन्य पेशा व्यवसाय गर्न सक्थे। ‘त्यतिबेला विद्यालय छाडेर व्यापारतिर लागेको भए आर्थिक रुपमा बलियो हुन्थेँ होला’, उनले भने, ‘तर विद्यालय छाड्न मन लागेन, मैले निरन्तर सिकाईरहेँ।’ घर पायक विद्यालय हुँदा पनि उनलाई केही सजिलो भएको बताउँछन्।
उमेरले ६१ पुगेका उनको अब सामाजिक काम गर्ने रुची छ। निकै कष्टले सुरु गरेको विद्यालयप्रति उनको माया र सद्भाव रहिरने बताउँछन्। ‘अहिले त भनेजस्तो भवन छ, शैक्षिक सामग्री छ, शिक्षकहरु हुनुहुन्छ पहिले भन्दा सजिलो छ’ शिक्षक थापा भन्छन् ‘तर पढ्ने इच्छाशक्ति, स्वचाहना र गुणस्तर अझै बढाउनुपर्छ।’नागरिकमा खबर छ ।






