गृहपृष्ठ बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको बस्ती पहिरोको उच्च जोखिममा
बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको बस्ती पहिरोको उच्च जोखिममा
चुरे फेदीमा रहेको बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको बस्ती पहिरोको उच्च जोखिममा रहेको भूगर्भविद्हरूले बताएका छन् । दुई दशकअघि विभिन्न चरणमा भिषण पहिरो गएको सो स्थानमा फेरि पहिरोको जोखिम बढेको विज्ञहरूले बताएका छन् ।०५५ र त्यसभन्दा अघि सो स्थानमा ठूला पहिरो खस्दा बस्ती नै स्थानान्तरण भएका थिए । अहिले यी क्षेत्रमा करिव १० हजार परिवार बस्दै आएका छन् । पहिरोले चुरे क्षेत्र चिरिएर बसेको र सामान्य वर्षामा पनि फाटफुट पहिरो झरिरहेकाले उच्च जोखिम रहेको विज्ञहरूले बताएका हुन् । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. भोजराज कडेरियाले यो क्षेत्र उच्च जोखिममा रहेको बताए । ‘चुरेको माटो सामान्य वर्षामा समेत बग्न थाल्छ, यहाँ त ठूलो चिरा परेको पहाड छ,’ उनले भने–‘त्यो पहाड खस्यो भने बुटवलको माथिल्लो क्षेत्र तहसनहस हुनेछ ।’सो क्षेत्रमा बस्तीसहित ५ वटा सरकारी विद्यालय छन् । केही सरकारी कार्यालय, बुटवल बहुमुखी क्याम्पस, केही निजी विद्यालय समेत रहेका छन् । यही वर्षको बर्खामा समेत सो क्षेत्रका नागरिक त्रासमा बसेका थिए ।
छेउछाउका खोल्साहरूमा पानीको उच्च बहाव हँुदा केही परिवार विस्थापित समेत भएका छन् ।ज्योतिनगर–लक्ष्मीनगर पहिरो नियन्त्रण संस्थाका अध्यक्ष टेकलाल अर्यालले भल तर्काएर पहिरो जोखिम हटाउने गरिएको बताए । बस्तीमाथिको पहाडमा ठूलो चिरा परेका छन्, ती चिरामा पानी नपरोस् भनेर भल तर्काएर बस्नुपरेको छ,’ उनले भने–‘सरकारले यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’यही चुरेको फेदमा बसको बस्तीलाई ०३८ सालमा राजा वीरेन्द्रले हटाएका थिए । पछि सुकुम्बासीका नाममा बस्ती विकास भएको हो । अहिले त्यो बस्तीका अधिकांशलाई सरकारले जग्गाधनी बनाएको छ । अझै केही पुर्जाविहीन बस्ती रहेका छन् । यो क्षेत्रका बासिन्दाले सरकारसंग बस्ती स्थानान्तरण वा चिरा परेको पहाड कटान गर्न सरकारसंग माग गरेका छन् । त्यही अजेण्डासहित सो क्षेत्रलाई भुक्षयबाट बचाउने अभियान थालिएको छ । स्थानीय संघसंस्था तथा बुद्धिजिवीहरूले चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्च नामक संस्था गठन गरेर भुक्षयग्रस्त क्षेत्रको दीर्घकालीन समाधानका लागि अभियान थालेका हुन् । सोमबार बुटवलमा भएको एक भेलाले मजदुर नेता कमल गौतमको संयोजकत्वमा मञ्च गठन गरेको हो । १५ सदस्यीय मञ्चमा हिराध्वज शाहा सहसंयोजक रहेका छन् । सदस्यमा भुक्षयग्रस्त क्षेत्रमा क्रियाशिल विकास परिषद्, खानेपानी, टोल विकासहरू रहेका छन् ।मञ्चका संयोजक गौतमले ०५५ साल तथा त्यसअघिदेखि बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको क्षेत्रमा खसिरहेको पहिरोले बस्ती जोखिममा रहेको भन्दै यसको दीर्घकालिन समाधान सरकारले गरिदिनुपर्ने बताए । उनले बस्ती सार्नुपर्ने वा भुक्षयबाट खसेको पहाड नै कटान गर्नुपर्ने विकल्प सरकारलाई सुझाएका छन् ।‘यो १० हजारभन्दा धेरै परिवार बसेको क्षेत्र हो, यसको दीर्घकालीन समस्या समाधान हुनुपर्छ,’ उनले भने–‘यस क्षेत्रकै सांसद विष्णु पौडेल अर्थमन्त्री भएको समयमा जनता बचाउने काम हुनुपर्छ ।
हामीले प्रदेश सरकारलाई पनि यो विषयमा जानकारी गराउँछौं ।’ गौतमले बस्ती स्थानान्तरणभन्दा पहिरोले चोइटिएको पहाड नै कटान गरेर विकास निर्माणमा कच्चा पदार्थ प्रयोग गर्नुपर्ने बताए ।भेलामा बोल्दै भुगर्भविद् कडेरियाले बुटवलमाथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवल नै सखाप पार्ने बताए । ‘पहिरोले चिराचिरा परेको जमिन छ, चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै हो,’ उनले भने–‘यसको दीर्घकालीन समाधान गरेर ठूलो क्षति जोगाउनुपर्छ ।’ आदर्शनगरदेखि गोलपार्कसम्मको पहाडमा पहिरोको उच्च जोखिम रहेको उनले बताए ।सिद्धबाबादेखि आदर्शनगरसम्मको जमिन खुकुलो रहेकाले ठूला पूर्वाधार बनाउनै नहुने कडेरिया बताउँछन् । यहाका पहाड कटान गरेर केही क्षेत्र सुरक्षित बनाउन सकिने विकल्प समेत रहेको छ । तर यो विकल्प भने निकै कठिन हो । सरकारको ठूलो लगानी बिना काम हुन नसक्ने देखिन्छ ।भेलामा सहभागीले पहिरोले चोइटिएको चुरे पहाड कटान गरेर तिनाउ नदी किनारमा बन्ने कोरिडोर र पूर्वपश्चिम राजमार्गमा कच्चा पदार्थ राख्नुपर्ने सुझाव दिए । उनीहरूले सर्वसाधारणको ज्यान बचाउनका लागि सरकारले छिट्टै यो कदम चाल्नुपर्ने उनीहरूले बताए । स्थानीय आनन्द भगत श्रेष्ठले पहिरो खसिरहेकै स्थानमा ३० फुटे सडक बनाउने प्रस्ताव गरिनु गलत भएको बताए ।
अब सडक नभई पहाड नै हटाउने अभियान उपयुक्त हुने उनको भनाइ छ ।यो क्षेत्रमा ०५५ मा ठूलो पहिरो गएको थियो । त्यसअघि पनि पहिरोले बस्ती मासिएको थियो । राजा वीरेन्द्रले त्यहाँको बस्ती स्थानान्तरण गर्न पुनर्बास कम्पनी बनाएका थिए । पछि सुकुम्बासी हँुदै अहिले पुर्जावाल जग्गाधनीहरूले सो क्षेत्र भरिएको छ।
@tilottamacitynews






