२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ लखपति कुकुर, जसलाई मालिकले ५० लाख डलर छाडेर गए

लखपति कुकुर, जसलाई मालिकले ५० लाख डलर छाडेर गए

अमेरिकामा ‘लुलु’ नामको एक कुकुरलाई यसका मालिकले ५० लाख डलर छाडिदिएका छन् । यसरी अचानक ‘लखपति’ बनेको आठ वर्षीय लुलुको यतिबेला अधिक चर्चा भइरहेको छ । ८७ वर्षीय व्यवसायी बिल डोरिसको गत वर्ष मृत्यु भएको थियो । जो अविवाहित थिए । उनले आफ्नो मृत्युपछिको ‘इच्छापत्र ’मा सबै सम्पत्ति लुलुको रेखदेखका लागि भनेर एउटा ट्रस्टमा जम्मा गर्न भनेका थिए । सो ट्रस्टले लुलुको ख्याल राख्न आवश्यक रकम मासिक रूपमा प्रदान गर्नेछ । कामका लागि बाहिर गइरहनुपर्ने हुँदा डोरिसले आफ्नी साथी मार्था बर्टनलाई लुलुको हेरचाह गर्न छाडिदिने गरेका थिए । र, उनको मृत्युअघि पनि लुलुलाई मार्थाले नै राखिरहेकी थिइन् । उनी पनि यस खबरले आश्चर्यमा परेकी छन् । मार्थाले यसबारे आफ्नो वास्तविक धारणा व्यक्त गर्नै कठिन भइरहेको बताइन् । उनले भनेकी छन्, ‘डोरिसले आफ्नो कुकुरलाई अत्यन्तै माया गर्दथे । र, लुलु पनि एकदमै ज्ञानी कुकुर हो ।’

तर पनि कुकुरमा पूरै ५० लाख डलर खर्च गर्न सक्ने–नसक्ने विषयमा प्रश्न गर्दा भने उनले ठट्टा गर्दै आफूले सक्दो प्रयास गर्ने बताइन् । लुलुका नाममा गरिने सबै खर्च संरक्षकबाट स्वीकृत हुनुपर्ने हुन्छ । त्यस्तै, लुलुको पनि मृत्यु भएमा चाहिँ सम्पत्तिको के हुन्छ भन्ने स्पष्ट छैन ।
यसअघि, सन् २०१५ मा क्वीन्सस्थित एक महिलाले पनि आफ्नो सबै गरगहना, घर र सम्पत्ति मृत्युपछि आफ्ना कुकुरका नाममा छाडिदिएकी थिइन् । स्रोत :  बिबिसी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार