गृहपृष्ठ १९ औं संस्करणको आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लब
१९ औं संस्करणको आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लब
पोखरा । संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।
खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।
सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए ।
अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।
पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १-० को अग्रता दिलाएका थिए । उनले मौसाको सटिक पासमा गोल गरे ।
खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमायो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् । उनको कडा प्संरहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे ।
खेलको ३७ औं मिनेटमा संकटाका फोफानाको हेडर बल अफ्रिकनका गोलकिपर डीए स्याल्भियोले सहजै बचाए ।
खेलको ४९ औं मिनेटमा ठिक डिबक्स भित्रबाट मौसाको प्रहार संकटाका गोलकिपर राजाबाबुले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ५१ औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । गोलकिपर राजाबाबुको लामो पासमा उनले गोल गरेका हुन् ।
६८ औं मिनेटमा संकटाका फोफानाको डिबक्सको ठिक भित्रबाटको प्रहार अफ्रिकनका गोलकिपर स्याल्भियोले बचाए ।
त्यसपछि खेलमा थप गोल भएन र खेल अतिरिक्त समयमा गयो ।
अतिरिक्त समयमा संकटाले केहि गोलको अवसर खेल फालेको थियो ।
१ सय १० औं मिनेटमा ग्लोरीको फ्री हेडर बल पोस्ट नजिकबाट बाहिरियो ।
खेलको १ सय १२ औं मिनेटमा संकटाका ग्लोरीले गोलकिपर अघि बढेको अवस्थामा गोल गर्न सकेनन् । उनको चिप बलले पोस्टको दिशा लिन सकेन ।
संकटा क्लबका गोलकिपर राजाबाबु थापा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।सर्वोत्कृष्ट बनेका राजाबाबुले एप्रिला स्कुटर प्राप्त गरे ।
सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर राजाबाबु थापा, उत्कृष्ट डिफेन्डर निरज बस्नेत, उत्कृष्ट मिडफिल्डर रिम, उत्कृष्ट स्ट्राइकर बासेक र उत्कृष्ट प्रशिक्षक अफ्रिकनका सर्ज बोरिस चुनिए । उनीहरुले जनही २५/२५ हजार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता पुलिसका बुद्द बल तामाङ, संकटाका ग्लोरी, अफ्रिकनका बासेक र मौसाले संयुक्त प्राप्त गरे ।
फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले प्राप्त गरेको छ ।





