२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ नेपाल सुपर लिग -बुटवलको विजयी सुरुवात

नेपाल सुपर लिग -बुटवलको विजयी सुरुवात

 

काठमाडौं । बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन अर्मान्ड बेडुमले एक गोल गरे ।

यस्तै बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको दोस्रो मिनेटमा बुटवलका फरवार्ड अर्मान्ड बेडुमले गोलको सुनौलो मौका गुमाए । गोलकिपर तथा कप्तान विशाल राईको लामो पासमा पेनाल्टी बक्स भित्रबाटको उनको फितलो प्रहार पोखराका गोलकिपर दीप कार्कीले बचाए ।

खेलको २३ औं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठको पेनाल्टी बक्स बाहिरबाटको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

२५ औं मिनेटमा पोखराका नितिन थापाको पेनाल्टी बक्स भित्रबाटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

खेलको २८ औं मिनेटमा पोखराका राजेशको उत्कृष्ट फ्रिकिक पोस्टको केहि इन्चमाथिबाट गएको थियो । बुटवलका रबिन श्रेष्ठले रबि पासवानलाई फउल गरेपछि पोखराले फ्रिकिकको मौका पाएको थियो ।

खेलको ४२ औं मिनेटमा अर्मान्ड बेडुमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए ।

मान बहादुर परियारको लामो फ्रिकिकमा अर्मान्डको हेडर पोखराका डिफेन्डर अजित भण्डारीलाई लाग्दै गोल भएको थियो ।

खेलको ५८ औं मिनेटमा बुटवलका लक्षण रुचालको पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको सशक्त प्रहार पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।

 

खेलको ६६ औं मिनेटमा लक्षण रुचालको पासमा सुमन लामाको डिबक्स बाहिरबाटको सशक्त प्रहार पोस्ट बारमा लागेर फर्किदा बुटवल अग्रता दोब्बर बनाउन चुकेको थियो ।

७२ औं मिनेटमा पोखराका राफायल रिमगागोको पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल पोस्ट बारको केहि माथिबाट गएको थियो ।

खेलको ७५ औं मिनेटमा पोखराका मौसा अब्बाको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

त्यसपछि खेलको ७६ औं मिनेटमा पोखराका अजित भण्डारीले आत्मघाती गोल गरे । अमिर श्रेष्ठको क्रस क्लियर गर्ने क्रममा अजितले आफ्नै पोस्टमा गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा बुटवलका विलियम ओपोकुको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो ।

यस जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोखराले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार (भोलि) एक खेल हुनेछ । सोमबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार