गृहपृष्ठ नेपालले पीएनजीसँग एकदिवसीय सिरिज खेल्ने
नेपालले पीएनजीसँग एकदिवसीय सिरिज खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली टोलीले पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने जनाएको छ ।
नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ मा खेल्ने क्यानले जनाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
सिरिजका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । 
क्यानले बोलाएको बन्द प्रशिक्षणमा गुलशन झा पहिलो पटक परेका छन् । उनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी –
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार





