२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ अन्तर्राष्ट्रिय फुटबलमा इटालीको कीर्तिमान, ३७ खेलसम्म अपराजित

अन्तर्राष्ट्रिय फुटबलमा इटालीको कीर्तिमान, ३७ खेलसम्म अपराजित

मोसी किनको दुई गोल प्रेरित इटालीले गए राति विश्वकपको युरोपियन छनोटअन्तर्गतको खेलमा लिथुवानियामाथि ५-० को जित हासिल गर्दै ३७ खेलसम्म अपराजित रहने कीर्तिमान कायम गरेको छ ।

रोबर्टो मान्चिनीको टोलीले सप्ताहन्तमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै ब्राजिलले १९९३ देखि १९९६ को बीचमा कायम गरेको सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमानसँग बराबरी गरेको थियो । गए राति भएको समूह ‘सी’अन्तर्गतको खेलमा स्पष्ट जित हासिल गरेपछि टोली त्यो कीर्तिमानमा एकल पकड बनाउन सफल भयो ।

पहिलो हाफमै किनको दुई तथा जियाकोमो रास्पाडोरीको एक गोल तथा विपक्षी खेलाडी इडगार्स उकुसबाट आत्मघाति गोल भएपछि इटालीले खेलमा बलियो नियन्त्रण कायम गरिसकेको थियो ।

११औं मिनेटमा किनले खाता खोलेको तीन मिनेट नबित्दै उकुसले आत्मघाति गोल गरेर इटालीको अग्रता दोब्बर पारेका थिए । रास्पाडोरीले २४औं मिनेटमा अन्तर्राष्ट्रिय गोलको व्यक्तिगत खाता खोलेर टोलीको अग्रता ३-० ले फराकिलो पारे । जहाँ किनले २९औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै खेलमा इटालीको अवस्था थप बलियो पारेका थिए ।

जियोभानी डी लोरेन्जोले ५४औं मिनेटमा टोलीको तर्फबाट पाँचौं गोल गरे । इटालीको प्रभावशाली जितमा फेडेरिको बर्नाडेस्चीले दुई गोलका लागि अवसर मिलाएका थिए । किनको दोस्रो तथा डी लोरेन्जोको गोलका लागि उनैले पास दिएका थिए ।

सोही समूहअन्तर्गत गए राति भएको अर्को खेलमा नर्दन आयरल्यान्ड र स्विट्जरल्यान्डले गोलरहित बराबरी नतिजा निकाले ।

इटाली लिथुवानियामाथिको जितपछि ६ खेलमा १४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहँदा चार खेलमा आठ अंक बटुलेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड चार खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ । बुल्गेरिया समान पाँच अंक भए पनि चौथो स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको लिथुवानिया पुछारमा थन्क्एिको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार