गृहपृष्ठ बार्सिलोना–मेस्सीबीच सम्झौता हुन नसक्नुको कारणबारे ला लिगा अध्यक्षको ‘खास खुलासा’ !
बार्सिलोना–मेस्सीबीच सम्झौता हुन नसक्नुको कारणबारे ला लिगा अध्यक्षको ‘खास खुलासा’ !
स्पेनिस ला लिगाका अध्यक्ष जाभिएर टेबासले बार्सिलोनाबाट लिओनल मेस्सी बहिर्गमन हुनुको कारणबारे निकै अर्थपूर्ण खुलासा गरेका छन् । एक ताजा अन्तर्वार्तामा कुरा गर्दै टेभासले मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता हुनु नसक्नुको कारण ला लिगा वा आफू नरहेको दाबी गरेका छन् । अन्तिम समयमा ला लिगाले मेस्सी र बार्सिलोनाबीच हुन लागेको सम्झौता भाँडिदिएको भन्ने कुराको टेबासले कडा रूपमा खण्डन गरेका छन् ।
करिब एक महिनाअघि मेस्सी बार्सिलोनाबाट बिदा भएर फ्रेन्च क्लब पिएसजीमा फ्री ट्रान्सपरमा अनुबन्ध भएका थिए । बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौता हुने अन्तिम तयारी चलिरहेका बेला ला लिगाले आर्थिक कारण देखाउँदै मेस्सी र बार्सिलोनाबीच सम्झौता हुन नसक्ने र गर्ने भए ड्राफ्टमा उल्लेख कतिपय कुरा परिमार्जन गर्नुपर्ने बताएका थिए । बार्सिलोनाले मेस्सीसँग गर्न लागेको सम्झौताले ला लिगाको आर्थिक नियम तोड्ने भएकाले त्यसलाई परिमार्जन गरेर नियमसंगत बनाउन नत्र सम्झौताले मान्यता नपाउने ला लिगाले त्यसबेला बताएको थियो ।
अन्ततः ला लिगाको त्यस्तो विज्ञप्तिपछि बार्सिलोनाले मेस्सीसँग सम्झौता नै नगरी उनी क्लबमा नरहने घोषणा गरेको थियो । सो घोषणाले विश्व फुटबल छिनभरमै तरंगित बनेको थियो । त्यसबेला बार्सिलोनाका नयाँ अध्यक्षले पनि सार्वजनिक रूपमा ला लिगाकै कारण मेस्सीसँग क्लबले सम्झौता गर्न नसकेको आरोप लगाएका थिए । तर, जब मेस्सी पिएसजीमा अनुबन्ध भएर पहिलोपटक मिडियामा बोले, त्यसबेला उनले बार्सिलोनाका अध्यक्ष अध्यक्षलाई नै घुमाउरो पारामा सम्झौता हुन नसक्नुको कारणका रूपमा देखाएका थिए ।
टेबासले रियल मड्रिडका अध्यक्ष फ्लारेन्टिनो पेरेजले बार्सिलोनालाई ‘कब्जा’ गरेको गम्भीर आरोप लगाएका छन् । उनका अनुसार रियलका अध्यक्षको भूमिकाले मेस्सीसँग सम्झौता नहुने वातावरण सिर्जना भएको हो । ‘मलाई थाहा छ, फ्लारेन्टिनोले बार्सालाई कब्जा गरेका छन् । मलाई यो धेरै राम्रोसँग जानकारी छ कि, मेस्सी बाहिरिनुको कारण आर्थिक पक्ष हुँदै होइन । बार्सिलोनाका अध्यक्षले जसरी मलाई दोष लगाए, त्यो गलत थियो । आर्थिक समस्याकै कारण बार्सिलोनाले मेस्सीलाई निरन्तर गर्न नसक्ने कुरै आउँदैन,’ टेबासले भने ।
स्मरण रहोस्, यसअघि पनि स्पेनिस मिडियाले रियलका अध्यक्ष पेरेजले बार्सिलोना र मेस्सीबीच सम्झौता हुन नदिनका लागि भूमिका खेलेको भनेर लगातार खबर छापेपछि त्यसबेला रियलका अध्यक्षले सार्वजनिक रूपमा प्रेस विज्ञप्ति नै निकालेर त्यसको विरोध गरेका थिए । तर, अहिले आएर ला लिगाका अध्यक्षले नै फेरि त्यस्तै आरोप लगाएका छन् । टेबासका अनुसार मेस्सीलाई ला लिगामा नराख्ने पेरेजको योजनामा बार्सिलोनाका नयाँ अध्यक्ष फसेका हुन् ।
त्यसैगरी, ला लिगा अध्यक्षले अहिले आएर मेस्सीसँग सम्झौता हुन नसक्नुको अर्को पनि कारण पेश गरेका छन्, जुन निकै तथ्यपरक लाग्छ । त्यो बार्सिलोना सामेल भएको विवादित युरोपियन सुपर लिग फुटबलको योजना हो । टेबासले बार्सिलोनाका नयाँ अध्यक्ष कुनै पनि हालतमा विवादित सुपर लिग योजना अघि बढाउन लागेपछि मेस्सीसँग नयाँ सझौता हुन नसकेको टेबास बताउँछन् । सुपर लिगका लागि पैसा जम्मा गर्न बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता गरेको टेबासले खुलासा गरेका छन् ।
‘यो समयक्रमले बताउनेछ कि, मेस्सी र बार्सिलोनाबीच किन सम्झौता हुन सकेन । लापोर्टा (बार्सिलोनाका अध्यक्ष) फ्लारेन्टिनो (रियल मड्रिडका अध्यक्ष) सँग मिलेर कुनै पनि हालतमा सुपर लिगको योजना अघि बढाउन चाहन्छन् । र, त्यसका लागि पैसा बचाउन लापोर्टाले चलाखीपूर्वक मेस्सीसँग सम्झौता गरेनन् । यो चाँडै साबित हुनेछ । ला लिगाले कहिल्यै पनि मेस्सी यहाँ नरहून् भन्ने चाहेन । मलाई लाग्छ, सम्झौता किन हुन सकेन भनेर मेस्सीलाई पनि वास्तविकता राम्रोसँग थाहा छ । उनले चाहे भने यो कुरा बताउन सक्छन्,’ टेबासले भने ।





