२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ पारस खड्काले ईपीएल नखेल्ने

पारस खड्काले ईपीएल नखेल्ने

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सेप्टेम्बर २५ तारिख देखि काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) नखेल्ने भएका छन्।

पारस ईपीएलमा बिराटनगर वारियर्स टिममा आवद्ध रहेका थिए जसको नेतृत्वमा टिमले २०१७ सिजनको उपाधि जितेको थियो। गत साउनमा सन्यास घोषणा गर्ने क्रममा पारसले घरेलु क्रिकेट भने खेल्ने संकेत गरेता पनि उनि ईपीएलमा भने देखिनेछैनन्।

पारस नखेल्ने अधिकारिक घोषणा भने बिराटनगरले हालसम्म गरेको छैन। घोषणा नगरेता पनि पारस टिमको अभ्यासमा सामेल छैनन् भने बिराटनगरले आफ्नो सामाजिक सन्जालमा समेत पारस सम्बन्धित कुनै पोस्ट गरेको छैन। उनि यो सिजन खेलाडीको रुपमा टिमसंग आवद्ध नहुने निश्चित भैसकेकोको बिराटनगर टिम श्रोतले विकेटनेपाललाई जानकारी गराएको छ।

पारस अन्तिम पटक यो वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर्स कप पछि मैदानमा उत्रिएका छैनन्। अन्तिम खेलमा पारसले बागमतीको प्रतिनिधित्व गर्ने क्रममा त्रिभुवन आर्मी क्लब बिरुद्ध शतक ( ११९ रन ) बनाएका थिए।

पारसको अनुपस्थितिमा बिराटनगर वारियर्सको कप्तानी राष्ट्रिय क्रिकेट टिमका फास्ट बलिंग अलराउण्डर करन केसीले गर्ने सम्भावना रहेको छ। करनले हालसम्म नेपाली घरेलु क्रिकेटमा कप्तानी गरेका छैनन्। एक-दुई दिन भित्र बिराटनगरले टिमको कप्तानी कसले गर्ने अधिकारिक घोषणा गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार