गृहपृष्ठ फेसबुकमा आफ्नो विरोध गरेको भन्दै वडाध्यक्षले सेवा प्रतिबन्ध लगाए
फेसबुकमा आफ्नो विरोध गरेको भन्दै वडाध्यक्षले सेवा प्रतिबन्ध लगाए
काठमाडौं । सल्यानको एक स्थानीय तहमा सामाजिक सञ्जाल फेसबुक मार्फत वडा अध्यक्षलाई गालि गलौज गरेको भन्दै एक स्थानीयलाई वडाबाट प्राप्त हुने सबै सेवासुविधामा प्रतिबन्ध लगाइएको छ । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर पुनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने दिलबहादुर केसीलाई सरकारी सेवा सुविधामा प्रतिबन्ध लगाइएको हो ।
वडा अध्यक्ष प्रेम बहादुर पुनलाई सामाजिक सञ्जालमा ‘छोटे राजा’ को संज्ञा दिएपछि स्थानीय दिल बहादुर केसीलाई वडाबाट प्रदान गरिने सरकारी सेवासुविधाबाट बञ्चित बनाइएको बताईएको छ । ‘म लगायत अन्य जनप्रतिनिधिलाई जथाभावी सामाजिक सञ्जालमा छोटे राजा भन्दै गालिगलौज गरेकोले चेतावनीका लागि मैले कुनै कानुनी कारवाही नगरी सेवासुविधामा प्रतिबन्ध लगाएको हुँ ।’, वडाध्यक्ष पुनले मध्यान्हसँग भने, ‘वडाको तर्फबाट हामीले पटकपटक स्टाटस हटाउन भनी अनुरोध गर्दापनी नमानेपछी सरकारी सेवासुविधामा प्रतिबन्ध लगाएका हौँ ।’
‘हाम्रो चरीत्र हत्या हुनेगरी जथाभावी बोलेकाले उनले माफी माग्नुपर्छ । आफ्नो गल्ती सच्याएर माफी नमागेसम्म हामी कुनैपनी सेवासुविधा दिने छैनौँ ।’, उनले भने । सोही वडाको सिमखानीका स्थानीय बासिन्दा दिल बहादुर केसीले वडाध्यक्ष र सदस्य सहित अन्य जनप्रतिनिधिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै केसीलाई वडाबाट दिइने सरकारी सेवा सुविधाबाट वञ्चित गरिएको छ ।
‘सिमखानीका दिलबहादुर केसीले मनपरि रुपमा वडाअध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधिलाई छोटेराजाको दमनको संज्ञा दिई सामाजिक सञ्जालमा चरीत्र हत्या गर्ने,अनावश्यक शब्द आरोपहरु लगाएको हुँदा निजले कमजोरी नसच्याएसम्म वडा कार्यालयबाट दिइने सबै सेवासुविधाबाट बन्चित गरिएको छ ।’, वडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष पुनले हस्ताक्षर गरेको विज्ञप्तिमा केसीलाई अराजक व्यक्तिको संज्ञा दिँदै सबै वडावासीलाई भ्रममा नपर्न आग्रह समेत गरिएको छ। पुन स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।





