२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ एमालेको दशौँ महाधिवेशनको तामझाम र अनुत्पादक खर्च

एमालेको दशौँ महाधिवेशनको तामझाम र अनुत्पादक खर्च

नेकपा एमालेको दशौ महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुन गइरहेकोे छ ।महाधिवेशन सम्पन्न गर्नको लागि चितवन सजिँदै गएको छ। यतिबेला एमालेका नेताहरू चितवनमा जमघट हुँदै गएका छन् । यो महाधिवेशन नेतृत्व चयनको महाधिवेशन भनिएको छ । जे सुकै भनिए तापनि यो एउटा कर्मकाण्डी प्रक्रिया मात्र  हो । यस महाधिवेशनको लागि प्रतिनिधि चयनदेखि पदाधिकारी चयनमा केन्द्रदेखि वडासम्म सर्वसम्मतको रटान र संगठित सदस्यबाट कम्तिमा पनि एकसय रुपैयाँका दरले आठ करोड उठाउन खोजिँदै छ। यसभन्दा बाहेक प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब बीस करोड बढि खर्च हुँदैछ।

यसभन्दा पहिले विधान महाधिवेशनको नाममा करिब पाँच करोड खर्च भइसकेको छ । यो महाधिवेशनमा एमालेले अत्यन्तै खर्च गरेर आफूलाई बहादुर र शक्तिशाली पार्टी हुँ भनेर चिनाउने नाममा जनतालाई अर्को  एउटा भ्रमको खेती गर्दैछ । महाधिवेशनको नाममा लाखौं जनता उतारेर करोडौं रुपैयाँ खर्च गरेर उपलब्धि भनेको खड्क प्रसाद ओलीको उखान टुक्का सुन्न र ताली पिट्नु बाहेक केही हुँदैन । गरिबी, बेरोजगारी र अभाव र कोरोना जस्तो महामारी रोगले लाखौं जनता  मर्नु परेको बर्तमान अवस्थामा यो सबै खर्च भनेको अनुत्पादक र भड्किलो मात्र  हो ।

नाम भन्दा गरिब र सर्वहारा जनताको पार्टी भन्ने काम र व्यवहारमा  सामन्त प्रवृत्तिले नै आज नेपाली जनतामा कम्युनिस्टप्रति वितृष्णा हुँदै  गएको छ । विगत दुई वर्षदेखि कोरोनाले नेपाली जनता आक्रान्त छन् । यस्तो अवस्थामा देशको मुख्य जिम्मेवार पार्टीले यसरी अनुत्पादक क्षेत्रमा खर्च गर्दा ती भोका पेटहरूले के भन्लान् । २१ औ शताब्दीमा विश्व डिजिटल युगमा प्रवेश गरेको सन्दर्भमा गाउँगाउँबाट नेपाली जनतालाई उतारेर के सन्देश दिन खोजिँदै छ । विकास र प्रविधिले जनतालाई जोड्नुको साटाे पाँच लाख जनतालाई  चितवनको नारायणी तटमा जम्मा गरेर त्यसको आर्थिक उपादेयता केही छैन । नेपाली जनताको मन जित्न तामझाम होइन भोको पेट भर्न र नाङ्गो शरीर ढाक्न पार्टी गाउँगाउँमा पुगेको भए जनताको मन जित्न सकिन्थ्यो होला।

आज नेपालमा बहुदलीय प्रजातान्त्रिक परिपाटीको पुनः बहाली भएको ३१ वर्ष हुँदा समेत राजनीति पार्टीमा जनताप्रति उत्तरदायित्व र जिम्मेवार भन्ने कतिबेला पनि छैन,आर्थिक मितव्ययिता नै छैन । पार्टीहरू थोत्रा नारा र आश्वासन दिएर भ्रमको खेतीमा पल्किरहेका छन् । महाधिवेशनको नाममा जनतालाई पुनः भ्रमको खेती गरी करोडौं रुपैयाँ खर्च गरिन लागेको वर्तमान परिप्रेक्ष्यमा नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नुपर्छ । पाँच लाख जनतालाई एक दिनमा उत्पादक क्षेत्रमा लगाउन सक्ने हो भने त्यसले जनताको आर्थिक समृद्धिमा कति राम्रो राहत मिल्ने थियो ।

यो महाधिवेशन विगत जस्तो छ्लफल, वैचारिक बहस र नेतृत्व चयनको प्रतिस्पर्धा गर्ने महाधिवेशन पनि त होइन र पार्टीभित्र ओलीको स्वेच्छाचारी र हिटलर प्रवृत्तिको विरोध र आलोचना गरेका पार्टीका जिम्मेवार केन्द्रीय नेता दशभाइको नै ओठमुख सुकेको अवस्थामा जनतालाई के नै गौरवको अनुभूति हुनसक्छ । यसपालि खड्कदेव र ओली बाको बोलीलाई काट्न सक्ने सामर्थ्य कसैमा छैन, बोल्नेहरू छुट्टिसकेको हुनाले ओलीलाई पनि निर्धक्क छ । त्यसैले पनि यस्तो अर्थहीन काममा  करोडौं खर्च गर्नु बालुवामा पानी हाल्नु हो ।

सत्तरी वर्षको इतिहास बोकेको नेकपा एमाले  गरिब र दु:खी जनताको पार्टी बन्ला, फराकिलो सोचाइ बनाउला भन्दा झन् सामन्ती शैलीको  निरङ्कुश ओली र ओली कम्पनी जस्तो देखिएको छ।अघिल्लो निर्वाचनमा धन्नै दुईतिहाई मत लिएर पार्टी चलाउन नसकी आन्तरिक कलहले देशलाई अनिर्णयको बन्दी बनाइएको थियोे अन्तत संसद विघटन नै गरियो र पुनः डरलाग्दो फोहोरी खेलको सुरुवात भयो।यसैको परिणामस्वरुप आज देशमा राजनैतिक अस्थिरता झन बढ्दै गएको सन्दर्भमा करोडौं खर्चेर ओली कुनै हालतमा चोखो बन्न सक्दैनन् । एमालेले आफू कतैबाट चोखो  बन्न सकिन्छ भनेर ओलीलाई देवत्वकरण गरिरहेको छ।एमाले पार्टी यस्तो बनाइएको छ कि कुनै कार्यकर्ताले बोल्न र आलोचना गर्न नै पाइँदैन ।

पार्टीभित्र पसेपछि यो पटक ओलीको  जयजयकार गर्नुको विकल्पै छैन, पार्टीमा ओलीको  एक छत्र बनाइएको छ । अहिले नेकपा एमाले यस्तो जड पार्टी बनेको छ कुनै पनि कार्यकर्ताले विचार र नेतृत्वप्रति मुख बन्द नै गर्नुपर्छ । पार्टीमा अधिनायकवाद हावी भएको देखिन्छ । यस्तो परिवेशले नेकपा एमालेको दशौँ महाधिवेशनले कार्यकर्ता र शुभेच्छुकलाई केही नयाँ आशा र जोश ल्याउने लक्षण देखिँदैन । पार्टीभित्र एक शक्तिशाली व्यक्तिको रुपमा ओलीलाई नै पूजा गरिरहेको देखिन्छ । त्यही पूजा सम्पन्न गर्नको लागि फूलप्रसाद र लड्डुको लागि  यति ठूलो रकम खर्चिदै छ । पार्टीमा यस्तो परिवेश बनाइएको छ कि पैसाको भरमा तामझाम देखाई पुनः जनभ्रम फैलाइदैछ।

एमालेको यो दशौँ महाधिवेशन भनेको ओलीलाई अझै उच्चाशन दिएर शिरमा पुर्याई उनमा लागेको ऐतिहासिक रुपमा  पार्टी चलाउन असक्षम भएको र पार्टीको आन्तरिक कलहका  कारण जनताको सर्वोच्च निकाय  संसद भङ्ग  गरेको कालो दाग मेटाउन सकिन्छ कि भन्ने एउटा जादुगरी खेल मात्रै हो । त्यही जादुगरी खेल देखाउन बढी तामझाम पनि  गरिदै छ भन्ने स्पष्ट छ । अहिले एमालेमा पार्टी पद्धति नरहेको अवस्थामा ओली एण्ड कम्पनीको नेतृत्व घोषणाको लागि यति धेरै खर्च बेकार हो।चितवनको नारायणीतिरमा गरिने महाधिवेशनमा  एमालेले  देवता रुपमा ओलीका शालिक बनाई जयजयकार हुने सुनिश्चित छ । एमालेमा ओली प्रवृत्ति  यसरी बढ्यो कि अब ओलीको विकल्पमा कसैले पनि मानौँ एमाले पार्टी चलाउन सक्दैनन् ।

यसपालिको महाधिवेशनमा अध्यक्षमा ओलीको सुनिश्चिततासँगै  उपाध्यक्ष, महासचिव, सचिवसम्म हुने ओलीका खल्तीमा रहेका कमरेडहरू जोखिम मुक्त छन् भने केही प्रतिस्पर्धा भनेको केन्द्रीय सदस्यमा भइ हाल्छ कि जस्तो छ तर त्यो पनि सम्भावना न्यून नै देखिन्छ किनभने जताततै सर्वसम्मतको हावा फैलाइएको छ। यसैलाई नै भनिन्छ- सेटिङ् । विधान महाधिवेशनमा जस्तै उपस्थित प्रतिनिधिले ताली पिटेर सर्वसम्मतको लागि किन लाखौं जनतालाई दु:ख दिइँदै छ र करोडौं रुपैयाँ खर्चिदै छ। आगामी कार्यकालमा ओली कम्पनीको नेतृत्व कसले गर्ने र कसरी गर्ने भनेर सबै कुरा पास गरिएकोले यसपालि चितवनमा नेतृत्व घोषणा सभा मात्रैको लागि यति ठूलो लगानी गर्नु अनुत्पादक खर्च हो । यो केबल  ओलीको खल्तीको कागज सुन्नको लागि यो तामझाम सबै नौटंकी र नाटक मात्रै हो ।

चितवनमा हुन लागेको यस महाधिवेशनमा एक हजार नौ सय उनान्सय प्रतिनिधि हुने भनिएको छ। गर्नै पर्ने भएमा बरु यति नै प्रतिनिधि सामेल गरेर घोषणा सभा गर्दा करोडौं रुपैयाँ बचत हुन्छ । सर्वसाधारण नेपाली जनताको गाँस काटेर यस्तो अनुत्पादक क्षेत्रमा खर्च गर्नुको सट्टा भोका पेट भर्न हो भने कति आशिर्वाद पाइन्छ होला । त्यही आशिर्वादले पार्टी बलियो हुनसक्छ । नेपालको राजनीतिमा यस्तो खर्चिलो परम्पराको महारोग सबै पार्टीमा छ । एमाले लगायत नेपालका सबै पार्टीहरूले बर्तमान परिवेशमा प्रविधिको प्रयोग गरेर महाधिवेशन  गर्ने हो भने यस्तो गरिब देश को करोडौं रुपैयाँ बचत हुनसक्छ । कार्यकर्ता बेरोजगार छन्,काम केही गर्दैनन्,पार्टीका कार्यक्रममा नेताको चाकरी र चाप्लुसी गरी पालिएका छन् ।

आम्दानीका श्रोत केही छैनन् यही कारण नै  नेताहरूलाई  देवता बनाइको  छ अनि टीका र प्रसादले कार्यकर्ता चल्ने परम्परा देखिन्छ । हरेक पार्टीमा नेताका भजन  मण्डलीले देश,जनता, पार्टी, विचार, सिद्धान्त,नियम, कानुन केही देख्दैनन् । पार्टीमा आर्थिक मितव्ययिता नहुँदा  सबै पार्टीमा आर्थिक चलखेल र भ्रष्टाचार तीब्र गतिमा बढिरहेको छ । यस्तै रवाफ र भड्किलो स्वभावले दलहरूमा भ्रष्टाचार झन बढ्दै जान्छ । एकछिन कसैको देवत्वकरणका र जयजयकारका लागि यति ठूलो खर्च गर्नुको सट्टा कुनै उत्पादक क्षेत्रमा लगानी गर्ने हो भने त्यसले जनताको जीवन स्तर उकास्न र राष्ट्रिय आम्दानीमा  ठूलो टेवा दिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार