२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ विद्यालयसम्म पहुँच पुराउन निःशुल्क साइकल वितरण

विद्यालयसम्म पहुँच पुराउन निःशुल्क साइकल वितरण

नेपालगञ्ज, १६ मंसिर।  बाँकेको नरैनापुर गाउँपालिकाले कक्षा ६–१२ का छात्राहरूलाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा साइकल वितरण गरेको छ ।

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५ सय २ जना छात्रालाई साइकल वितरण गरेको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुरको विकासको लागि छात्राको पहुँच विद्यालयसम्म पुर्‍याउन आवश्यक भएकोले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण गरिएको बताइन् ।

उनले भनिन्, ‘जुन उद्देश्यको लागि साइकल वितरण गरिएको छ । नरैनापुरका सबै छोरीहरू विद्यालयसम्म पुग्न सजिलो होस भनेर साइकल चलाउन सक्ने कक्षा ६ देखि १२ सम्मका सबैलाई साइकल वितरण गरिएको छ । यसको सदुपयोग गर्नुहोस् र पढाइलाई निरन्तरता दिनुहोस् ।’

नरैनापुरमा रहेका सामुदायिक विद्यालय मध्ये तीन वटा मावि तह, १ आधारभूत तह र ४२ वटा प्रावि तहका रहेकोले अधिकांश कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको जनगुनासो आएपछि गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि माथिका सबै छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।

उनले नरैनापुर हरेक क्षेत्रबाट पछाडि पारिएको पालिका भएकोले प्रदेश सरकारले यहाँको शैक्षिक क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यले छात्राहरूको विद्यालयसम्मको पहुँच बढाउने उद्देश्यले उनीहरूलाई विद्यालय आउन र जानको लागि सहज होस भनेर साइकल उपलब्ध गराइएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन छात्रवृत्तिदेखि निःशुल्क साइकल वितरण गरेको बताए ।

उक्त कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा ५० लाख बजेट रहेको पालिकाका लेखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । कार्यक्रम शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा र सहजीकरण अरुणकुमार यादवले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार