गृहपृष्ठ अवैध हातहतियारसहित चार जना रुपन्देही प्रहरीको नियन्त्रणमा
अवैध हातहतियारसहित चार जना रुपन्देही प्रहरीको नियन्त्रणमा
रुपन्देही, १८ बैशाख । रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।
रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार उनीहरूलाई देवदह–६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनभित्र भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । चारै जनालाई रूपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






