गृहपृष्ठ ‘वडकी अटवारी’ पर्वको अवसरमा तिलोत्तमाले दियो भदौ १९ गते आइतबार सार्वजनिक बिदा
‘वडकी अटवारी’ पर्वको अवसरमा तिलोत्तमाले दियो भदौ १९ गते आइतबार सार्वजनिक बिदा
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वडकी अटवारी’ पर्वको अवसरमा भदौ १९ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरले आइतबार बड्की अटवारी पर्वको अवसर पारेर विदा दिएको हो । थारु समुदायको बसोबास रहेका रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । बड्की आइतबार थारु समुदायले पर्सी आइतबार मनाउँदै छन । थारु समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा बड्की आईतबार पर्वलाई मान्ने गर्दछन । बड्की आइतबार पर्व थारु जातिहरुले मनाउने पर्व हो । यो पर्व सूर्यको उपासना गरेर मनाउने गर्दछन् । सूर्यलाई श्रृष्टिकर्ताको रुपमा मानिन्छ, त्यसकारण सूर्यको सम्मानका लागि व्रत बसेर थारु जातिहरुले एउटा चाडको रुपमा मनाउने गर्दछन् ।
हिन्दु नारीहरुको हरितालिका तीज पछिको आइतबारलाई बड्की आइतबार मान्ने चलन छ । तर हरितालिका पछिको आइतवार पष्ठी परेमा बडकी आइतबार मनाइदैन त्यस पछिको आइतबारलाई बड्की आइतबार पर्व मान्ने चलन छ । स्वास्थ्य, दीर्घायु सुखमय जीवनको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पुरुषले स्वास्थ्य सुखमय जीवनको लागि व्रत बस्ने गर्दछन् भने महिलाहरुले सन्तान प्राप्ति, श्रीमान्को स्वास्थ्य दीर्घायू र राम्रो वरको लागि यो व्रत बस्ने चालन पनि छ । यो पर्वमा विशेष गरेर गहुँको पिठोबाट बनेको विभिन्न प्रकारका रोटी मिठाई बनाएर खाने गरिन्छ । विवाहित छोरी, चेलीबेटी, ज्वाइलाई बोलाएर मिठा मिठा परिकार साथै उपहार दिएर यो पर्व मनाउने पराम्परा छ। जनकवि तथा साहित्यकार अयोध्या प्रसाद थारू”अड्डे थारू”ले रुपन्देहीको थारू जातिहरुले हरितालिका तिज पछिको आइतबारलाई बड्की आइतबार पर्व मान्ने गरेको बताए । उनले हिन्दु पराम्परा अनुसार थारु जातिहरुले पुर्खौदेखि बड्की आइतबार मनाउँदै आएको बताएका छन् । उनले भने थारू समुदायमा सूर्यलाई श्रृष्टिकर्ताको रुपमा मानिने भएकाले हरेक प्राणीलाई सूर्य नभए श्रृष्टि पनि रहँदै त्यसकारण सूर्यको सम्मानका लागि व्रत बसेर यो पर्व मनाइन्छ ।
बिहान घरदैलो लिपपोत स्नान गरी सूर्य पुजा गरी विभिन्न किसिमका रोटीका परिकार पकाएर चेलीबेटीलाई बोलाइ खुवाउने चालन रहेको सुनाए । यो पर्व महाभारत कथासंग जोडिएको कवि थारुको भनाई छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भीम थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ । जब लडाइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । आइतबार एक पट्टी मात्र पकाएको रोटी पकाउने चलन छ । यसरी सो दिन खुवाइने परिकार अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती रहेको समेत उल्लेख छ । उनले थारु जातिहरुले आफ्नो संस्कृति परम्परालाई निरन्तरता दिन जरुरी रहेको बताउदै यस कोरोनाको विषम परिस्थितिमा सुरक्षित रहेर मनाउन सुझाव दिए । योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइत जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुख दुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता र खुशीयलीका साथ मनाउने गर्दछन् ।






