गृहपृष्ठ प्रभावित नागरिकको उद्धार, उपचार र पुन:स्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ : प्रधानमन्त्री बालेन्द्र शाह
प्रभावित नागरिकको उद्धार, उपचार र पुन:स्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ : प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट ९५ भन्दा बढी नागरिकको मृत्यु भएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित नागरिकको सम्पूर्ण जिम्मेवारी सरकारले लिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् भने बेपत्ता नागरिकको खोजी कार्य निरन्तर जारी रहने र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बाढी लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका हजारौँ जनशक्ति परिचालन गरी हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शैया छुट्याइएको छ भने अन्य ठूला अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। साथै, प्रभावित क्षेत्रमा चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्रीहरू पठाइएको छ।
बाढीका कारण नुवाकोट (विदुर), रसुवा (उत्तरगया र गोसाइँकुण्ड), धादिङ (गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी, सिद्धलेक) र गोरखा (शहीद लखन, गण्डकी) बढी प्रभावित भएका छन्। ती क्षेत्रहरूमा खानेकुरा, सुरक्षित खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने जानकारी दिइएको छ। सरकारले क्षतिग्रस्त सडक, पुल, विद्युत् र खानेपानी संरचनाहरूको पुनर्निर्माण र विस्थापित परिवारलाई सुरक्षित पुनःस्थापना गर्ने योजना बनाएको छ। प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सबै संघसंस्था, उद्योगी-व्यवसायी र नागरिकहरूलाई राहत तथा उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेका छन्।
















