गृहपृष्ठ भोटेकोशीमा आएको बाढीमा हालसम्म ९५ जनाको मृत्यु, ६३ घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै
भोटेकोशीमा आएको बाढीमा हालसम्म ९५ जनाको मृत्यु, ६३ घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको विवरण अनुसार बाढीले पुर्याएको ठूलो क्षतिपछि विभिन्न जिल्लाबाट शवहरू फेला पारिएका हुन्। मृतकमध्ये २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक रहेका छन् भने २० जनाको पहिचान खुल्न सकेको छैन।
जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३३ जनाको शव भेटिएको छ, जसमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना पहिचान नखुलेका व्यक्ति छन्। त्यसैगरी धादिङमा ११ महिला, ५ पुरुष र २ जना पहिचान नखुलेका गरी १८ जना तथा गोरखामा १ महिला, ४ पुरुष, १ बालक र १० जना पहिचान नखुलेका गरी १६ जनाको शव फेला परेको छ। यसै गरी नुवाकोटमा ११ जना (५ महिला र ६ पुरुष), नवलपरासी पूर्वमा ११ जना (८ पुरुष र ३ बालिका), तनहुँमा ५ जना (३ पुरुष, १ बालिका र १ बालक) तथा रसुवामा १ पुरुषको शव भेटिएको छ।
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी काठमाडौं उपत्यका र आसपासका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, नर्भिक अस्पतालमा ३ जना र वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको छ।
















