गृहपृष्ठ धादिङका २८ तीर्थयात्री रसुवामा सम्पर्कविहीन : गोसाइँकुण्ड यात्रामा गएका टोली बाढीपछि बेपत्ता
धादिङका २८ तीर्थयात्री रसुवामा सम्पर्कविहीन : गोसाइँकुण्ड यात्रामा गएका टोली बाढीपछि बेपत्ता
काठमाडौं । धादिङबाट धार्मिक स्थल गोसाइँकुण्ड दर्शनका लागि गएका २८ जना नेपाली तीर्थयात्रीहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। रसुवाको टिमुरे नाका नजिकै चीनको तिब्बततर्फबाट आएको भीषण बाढी र बाटो अवरुद्ध भएपश्चात् उनीहरूसँगको सम्पर्क टुटेको हो। नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका स्थानीय बासिन्दाहरू गाडी रिजर्भ गरेर गोसाइँकुण्डतर्फ गएका थिए।
सम्पर्कविहीन हुनेहरूमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल र बस चालक छबिलाल श्रेष्ठ रहेका छन्। त्यस्तै नीलकण्ठ–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल पनि सम्पर्कमा आएका छैनन्।
यसैगरी, नीलकण्ठ–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिमिल्सिनाका साथै सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्टसहितको टोली पनि बेपत्ता रहेको छ। नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा र धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूसँग समन्वय गरी उनीहरूको स्थिति पत्ता लगाउने र सम्पर्क स्थापित गर्ने तीव्र प्रयास भइरहेको छ।
















