गृहपृष्ठ स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो कि गठबन्धन पहिलो ?
स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो कि गठबन्धन पहिलो ?
वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको प्रायः सबै मत परिणाम आएको छ। मत परिणाम अनुसार नेपाली काङ्ग्रेस पहिलो पार्टी भयो भनेर अङ्क गणितीय हिसाब गरिएको छ। यस निर्वाचनमा कानुनी वा प्राविधिक रुपमा नेपाली काङ्ग्रेस पहिलो भएको होला तर मताधारमा गठबन्धन पहिलो भएको हो। नेपाली काङ्ग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन बनाई नेकपा एमालेसँग प्रतिस्पर्धा गरेको हुनाले परिणामलाई पाँचदलीय गठबन्धनको जित भएको मानिनु पर्छ भने गठबन्धनभित्र नेपाली काङ्ग्रेस पहिलो भएको छ। गठबन्धनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरू संख्याका आधारमा पहिलो भएका हुन्।
२०७४ मा जस्तो नेपाली काङ्ग्रेसले कति मत प्राप्त गर्यो भनेर तथ्यांक निकाल्न सकिँदैन। नेपाली काङ्ग्रेस पहिलो पार्टी भयो भनिएको छ तर नेपाली काङ्ग्रेसको पोजिसन कुन ठाँउमा पुग्यो भनेर भन्ने परिस्थिति पनि देखिएन।यो आम जिज्ञासाको विषय रहेको छ। जुनदिन नेपाली काङ्ग्रेस एक्लै निर्वाचनको मैदानमा जाला अनि थाहा पाइएला। प्रायः अधिकांश ठाँउमा गठबन्धनको आफ्नो छुट्टै चुनाव चिन्ह नहुनाले रुख चिन्हमा उठेर जितेको आधारमा काङ्ग्रेसले यति सिट ल्यायो भन्न सकिएको हो। यसपालिको रुख चिन्ह काङ्ग्रेसको मात्र नभएर माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सयुक्त रुपमा प्रयोग भएको थियोे। नेपाली काङ्ग्रेस मात्रै नभएर पाँच वटा गठबन्धनका नै खास मत कति रहेछन् भनेर थाहा पाउन सकिन्न। यही निर्वाचनलाई आधार मानेर नेपाली काङ्ग्रेस पहिलो पार्टी भयो भनेर हौसिन पर्ने अवस्था छैन। गठबन्धन भएको हुनाले गणितीय हिसाबमा नेपाली काङ्ग्रेस पहिलो बन्यो। सायद नेपाली काङ्ग्रेस गठबन्धन बिना एक्लै गएको भए अझै धेरै सिट ल्याउन सक्थ्यो होला। पाँच गठबन्धनले हाम्रा यति सिट आए भन्दै एक्लाएक्लै बाजा बजाउनु बेकार देखिन्छ।
चुनावमा गठबन्धन भएर जाने अनि परिणाममा एक्ला एक्लै हिसाब गरेर मेरा यति सिट र उति सिट भन्नु क्षणिक चित्त बुझाउनु बाहेक केही होइन जस्तो लाग्छ। नेपालका ठूला पालिकाहरू चितवन, पोखरा, विराटनगर, विरगन्ज र ललितपुरको नतिजालाई हेर्दा पनि माओवादी, एकीकृत समाजवादी, काङ्ग्रेस र जसपाले एक्लै जितेका त होइनन्। निर्वाचन पहिले गठबन्धनको चुनावी प्रचार शैली र उनीहरूको गठलाई हेर्दा र परिणाम आइसकेपछिको उनीहरूको आ-आफ्नै हिसाब किताब गर्दा जनतालाई हाम्रो पार्टी यति ठूलो भयो भनेर भ्रम पार्न खोजिए जस्तो लाग्छ। यस निर्वाचनमा गठबन्धन पहिलो र एमाले दोस्रो भएको छ। नेपाली काङ्ग्रेसले आफूलाई चित्त बुझाउन सांगठनिक दृष्टिकोणले यस निर्वाचनमा आफ्नो स्थान कहाँनिर छ भन्न सकिने अवस्था तथ्यगत रुपमा देखिँदैन।
यसपालीको निर्वाचनमा राजनीतिक दलहरूका बिचमा स्वाभाविक किसिमका तालमेल हुन सकेनन्। राजनीतिक विचारका आधारमा नभएर जहाँ जसरी जित्न सकिन्छ वा मिल्न सकिन्छ त्यसैका आधारमा तालमेल भयो। कतै आफू जित्न तालमेल भयो भने कतै अरुलाई हराउन तालमेल भयो। वास्तवमा स्थानीय निर्वाचनलाई दल बिहीन बनाउनु पर्नेमा झन दलबाट दलदल पारियो।दलहरूका बिचमा यस्तै थरीथरीका तालमेल हुनाले मतदातालाई सार्है अन्योल पनि भयो र मत बदर पनि धेरै देखियो। कतै गठबन्धबाट प्रमुखमा जितेका छन् भने उप-प्रमुख हारेका छन् अनि उप-प्रमुखमा जितेका छन् भने प्रमुखमा हारेका छन् । कतिपय ठाँउमा गठबन्धन भित्रकै दलका बिचमा पनि प्रतिस्पर्धा भयो। गठबन्धनको गणितीय परिणामलाई हेर्दा काङ्ग्रेस र माओवादीलाई राम्रै उपलब्धि भयो भने एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई उल्लेखनीय उपलब्धि हुन सकेन।२०७४ को निर्वाचनमा अत्तालिएको नेपाली काङ्ग्रेसलाई यसपाली राम्रै राहत मिलेको छ तर नेपाली काङ्ग्रेसले आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म यसलाई कसरी जोगाएर राख्न सक्छ हेर्न बाँकी नै छ।
नेपाली काङ्ग्रेसले यस स्थानीय निर्वाचनमा करिब ४४ प्रतिशत प्रमुख पदमा हात लगाउँदा मत भने करिब जम्मा ३४ प्रतिशत पाएको देखिन्छ। यसले गर्दा काङ्ग्रेसको मत उत्पातै बढेको देखिएको चाहिँ छैन। काङ्ग्रेसले गठबन्धनबाट प्राप्त गरेको मतभन्दा करिब एक प्रतिशत कम एमालेको देखिन्छ। यसरी नेपाली काङ्ग्रेसको तुलनामा नेकपा एमाले बलियो नै देखिएको छ। पाँच दलीय गठबन्धनको छुट्टाछुट्टै मत एकिन गर्न नसकिएको हुनाले काङ्ग्रेसभन्दा थोरै सिट जिते पनि बलियो पार्टी एमाले नै देखिन्छ। यो वास्तविक मत परिणामलाई काङ्ग्रेसले स्विकार्नु पर्दछ। यसरी स्विकार्दा संगठन बलियो बनाउन र उसको आधारभूमि चिन्न काङ्ग्रेसलाई नै फाइदा हुन्छ।
यो स्थानीय निर्वाचनमा एमालेको संगठन राम्रो हुँदाहुँदै पनि पार्टी अध्यक्ष केपी ओलीको घमण्ड र दम्भले गर्दा पनि काङ्ग्रेसलाई धेरै फाइदा भएको छ। २०७४ को निर्वाचनमा केपीलाई धेरै विश्वास गरेर मत दिएका जनताले यसपाली उनको खराब प्रवृत्तिले गर्दा मत दिएनन्। उनले जनताले दिएको आशा र विश्वासलाई कुठाराघात गरे अनि नेपाली काङ्ग्रेसलाई रोजेका छन्। अब यो मतलाई जोगाउने वा नजोगाउने काङ्ग्रेसको हातमा छ। अहिले पनि पार्टीप्रति असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारलाई जिताएको अवस्थामा काङ्ग्रेसले पनि जनताको आशा बुझ्न सकेन भने अर्को चुनावमा नेपाली जनताले पार्टीको विकल्पको रुपमा थुप्रै बालेन्द्र शाह, हर्क साम्पांग र गोपाल हमालहरू नजन्माउलान् भन्न सकिन्न। अहिलेको स्वतन्त्र उम्मेदवारको जित र उनीहरूले प्राप्त गरेको मत परिणामलाई नेपालका दलहरूले राम्रोसँग अध्ययन र विश्लेषण गरी सन्देशका रुपमा ग्रहण गर्नुपर्ने देखिन्छ।
अहिलेको निर्वाचनमा जनताको मतदानको रुपरेखा हेर्दा अत्यन्तै सचेत भएर विवेकपूर्ण तरिकाले मतदान गरेको देखियो। केही अपवाद बाहेक प्रतिस्पर्धीमध्ये राम्रोलाई नै जिताएका छन्। गठबन्धनीय अस्वस्थ प्रतिस्पर्धाले गर्दा कतिपय ठाँउमा धेरै राम्रोको तुलनामा कम राम्रोले जितेको हुनसक्छ। थुप्रै वर्षको लोकतान्त्रिक अभ्यासले गर्दा अब नेपाली जनतालाई स्वतन्त्र तरिकाले मतदान गर्न दिने हो भने राम्रो मान्छे चिन्न र चुन्न सक्छन्। जनताहरू कुनै पुरानो पार्टी वा कुनै नक्कली कुरा गरेर अल्मलिँदैनन् भन्ने कुरा धरान, धनगढी र काठमाडौंको नतिजाले प्रष्ट पारेको पनि छ।
यो मत परिणामलाई हेर्दा नेपाली काङ्ग्रेस हामी त साँच्चै राम्रै भएछौँ भनेर बुरुक्कै उफ्रि हाल्नु पर्ने अवस्था चाहिँ छैन। यस बेलाको यो मत काङ्ग्रेसको आफ्नै मात्र नभएर अन्य चार दलको समेत हो।यो मतलाई काङ्ग्रेसले हल्का पाराले बुझ्न थाल्यो र जनमतको कदर गरेन भने फेरि उठ्न नसक्ने गरी बसालिदिन सक्छन्। कुनै बेला नेपालको अत्यन्तै लोकप्रिय र शक्तिशाली पार्टी नेपाली काङ्ग्रेसको अहिले निर्वाचन परिणाम राम्रै देखिए पनि उसका खुट्टा त्यति बलिया भने छैनन्। नेपाली काङ्ग्रेसमा पार्टीभित्र गुट र उपगुटको जालो नराम्ररी फैलिएको छ।नेपाली काङ्ग्रेसले आफ्नो आधार चिनेर हिड्न सक्नुपर्छ। अहिलेको जितलाई आधार बनाई हौसिएर उड्न नै थाल्यो भने डाेरी जतिबेला पनि टुट्न सक्छ। त्यसकारण नेपाली काङ्ग्रेसले आगामी दिनमा नहौसि र नमात्ति यो जनमतलाई अत्यन्तै सम्मान र सुरक्षित गर्नुपर्छ। नेपाली काङ्ग्रेस जस्तो पुरानो पार्टीले अरुको सहारा खोज्ने होइन आफ्नै खुट्टा बलियो बनाई हिड्नु पर्छ।
( लेखक राजेन्द्र पन्थी अमेरिकाको भर्जिनियामा बस्नुहुन्छ। )





