गृहपृष्ठ प्रचण्डद्वारा ओलीको बालुवाटार आउने निम्तो अस्वीकार
प्रचण्डद्वारा ओलीको बालुवाटार आउने निम्तो अस्वीकार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । छलफलका लागि बालुवाटार आउन प्रचण्डलाई ओलीले तीन दिनदेखि आग्रह गरिरहेका छन् ।विहीबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पोखरेलले दुई अध्यक्षवीचको सम्वादहीनता तोड्न प्रचण्डसँग आग्रह गरेका थिए । पोखरेल खुमलटार पुगेकै बेला बालुवाटारबाट प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर ‘आउनोस् छलफल गरौं’ भनेका थिए । प्रचण्डसँग सम्वाद हुन नसकिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग भने लामो छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्ड र पूर्वमाओवादी समूहसँगको गुनासो पोख्दै माधव नेपाललाई मिलेर अघि बढ्न तयार रहेको बताएका थिए ।
तर, प्रधानमन्त्री ओलीको सन्देश लिएर खुमलटार पुगेका मुख्यमन्त्री पोखरेललाई प्रचण्डले अहिले बालुवाटार नजाने जवाफ दिएको स्रोतले जनायो । जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको र शर्मासँग आफ्नो पनि उठबस भएकाले केही दिनपछि मात्रै प्रधानमन्त्रीसँग भेट्नु स्वास्थ्यको हिसाबले उपयुक्त हुने प्रचण्डले जवाफ दिएको स्रोतले बतायो ।ओली–प्रचण्डबीच नौ दिनयता सम्वाद हुन सकेको छैन । गत कात्तिक ४ मा ओली र प्रचण्डबीच निकै लामो सम्वाद भएको थियो । कर्णाली प्रदेशको विवाद हल गर्न भएको छलफलबारे ओली र प्रचण्डका तर्फबाट छुट्टा–छुट्टै प्रेस नोट जारी भएयता सम्वाद रोकिएको छ ।दुई अध्यक्षबीच भएको सहमतिविपरीत ओलीले निर्णय लिने गरेको भन्दै रिसाएका प्रचण्डले बालुवाटार जाने प्रस्ताव कोरोनाको बाहना बनाएर अस्वीकार गर्दै आएका छन् ।प्रचण्डसँग सम्वाद हुन नसकिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग भने लामो छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्ड र पूर्वमाओवादी समूहसँगको गुनासो पोख्दै माधव नेपाललाई मिलेर अघि बढ्न तयार रहेको बताएका थिए । आफू मिलेर जान खोज्दा पनि कार्यकारी अध्यक्षकै कारण समस्या उत्पन्न भइरहेको प्रधानमन्त्रीले नेता नेपालसँग गुनासो गरेको स्रोतले बतायो ।
ओली र प्रचण्डबीचको सम्वादहीनताकै वीचमा कात्तिक १५ देखि बोलाइएको केन्द्रीय कमिटी बैठकसमेत एक महिना पछि सरेको छ । केन्द्रीय कमिटीको बैठक दुई महिनापछि सार्ने बालुवाटारको प्रस्ताव बोकेर महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बुधबार खुमलटार पुगेका थिए । तर, प्रचण्डले बैठक दुई महिनापछि सार्न उपयुक्त नहुने भनेपछि फर्केका महासचिव पौडेलले अर्का अध्यक्षलाई भेटेपछि बैठक एक महिनापछि (मंसिर १५ गते बस्ने गरी सरेको सूचना सार्वजनिक गरिएको थियो । गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले कात्तिक १५ मा केन्द्रीय कमिटी बैठक बसेर चैतमा तोकिएको एकताको महाधिवेशनबारे तयारी थाल्ने निर्णय गरेको थियो । तर, ओली–प्रचण्ड बीचको मतभेदकै कारण स्थायी कमिटी बैठकले गरेको कुनै पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । अध्यक्षद्वयको सम्वादहीनताकै वीचमा कात्तिक १५ मा बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंसिर १५ मा सारिएको छ ।
स्रोत – तिलोत्तमा सिटी न्युज





