गृहपृष्ठ नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले रामग्राम–११ मा रहेको बुटवल–बर्दघाट रोड प्रोजेक्टको साइड क्याम्प (सेक्सन २) मा गएर बुधबार नाराबाजी गरेका हुन् ।
सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलब नदिएको, बिना कारण कामबाट निकालिएको, कामदारको बिमा नगरिएको, काममा आउन जानका लागि व्यवस्थित यातायातका साधनहरु उपलब्ध नगराएको, सुरक्षा सामाग्रीको व्यवस्था नगरिएको , दैनिक ८ घन्टा भन्दा बढी काममा खटाइएको भन्दै आफुहरु आन्दोलित भएको विरोधको नेतृत्व गरेका मजदुर खगेश न्यौपानेले बताए । उनले आफुहरुका सम्पूर्ण मागहरु पुरा गर्न लिखित सम्झौता नगरेसम्म आफुहरु आन्दोलित बन्ने र सम्पूर्ण निर्माणको काम ठप्प पार्ने चेतावनी दिए ।
सडकको पश्चिम खण्डमा कार्यरत १ सय भन्दा बढी मजदुरहरुले काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । मजदुरहरु आन्दोलनमा उत्रिन थालेपछि सडक विस्तारको काम प्रभावित भएको छ ।
४२ महिनामा सक्ने भनेर २०७५ चैत्रमा शिलान्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरुबीच समन्वय नहुँदा समयमै सुरु हुन सकेको थिएन ।नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन लगायतका नियकायहरुले समयमै काम नगर्दा रोकिएको सडक विस्तारको काम कोरोना भाइरसको महामारीपछि ठप्प जस्तै भएको थियो । तर, केही महिनाअघिदेखि चिनियाँ प्राविधिक र कामदारहरु कार्यक्षेत्रमा खटिएपछि काम सुरु भएको थियो ।
एकातिर समयमै सडक विस्तारको काम ढिला सुरु हुनु, अर्कोतिर वर्षाले भत्काएको सडक मर्मतको काम नुहँदा नारायणगढ–बुटवल सडकखण्डको यात्रा अहिले कष्टकर बनेको छ भने धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित भएका छन् ।
यसैमाथि मजदुरहरुको आन्दोलन समेत थपिन थालेपछि यो सडकखण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाइ हुने देखिएको छ ।
@सैनामैना खबर





