गृहपृष्ठ पेट्राेलियम पदार्थको आयात रोकिएपनि फरक पर्दैन : मन्त्री पुन
पेट्राेलियम पदार्थको आयात रोकिएपनि फरक पर्दैन : मन्त्री पुन
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले जस्तैसुकै अप्ठ्यारो परिस्थितीमा समेत ऊर्जा संकट हुन नदिनेगरी सरकारले काम गरिरहेको बताएका छन् । नाकाबन्दीका समयमा डिजेल÷पेट्राेलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्राेलियम पदार्थको आयात रोकिएपनि फरक खासै फरक नपर्ने उल्लेख गरे ।
सरकारले ऊर्जा दशक (२०७५–२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने बताए । १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ छ । ‘सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेको छ’, उनले भने ‘विगतमा जस्तो डिजेल, पेट्र«ोलयको आयात नहुँदा देशै ठप्प हुने अवस्था अब धेरै समय रहँदैन ।’
विकास निर्माणका क्रममा स्थानीयलाई परेको मर्काबारे ध्यानाकर्षण गराउन आइतबार धादिङ पुगेका मन्त्री पुनले त्यहाँका सांसद र स्थानीय जनप्रतिनिसँगको छलफलमा सो कुरा बताएका हुन् । मन्त्री पुनले वर्तमान सरकार बनेपछि नेपालले भारत, चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको चर्चा गर्दै विद्युत बढी हुँदा क्षेत्रीय बजारमा निर्यात र अपुग हुँदा आयात गरिने बताए । मन्त्री पुनले चालु आर्थिक वर्षमै थप एक हजार ३ सय मेगावाट विद्युत राष्ट्रि«य प्रसारण प्रणालीमा थपिएर कूल जडित क्षमता २ हजार ६ सय मेगावाट हुने उल्लेख गरे ।
विद्युत उत्पादन र प्रसारणका आयोजना निर्माणका क्रममा कतिपय सर्वसाधारणले घर/जग्गा गुमाउने परेपनि ती पूर्वाधारका कारण कहिल्यै कल्पना नगरिएको पहरोमा छिचोलेर सडक निर्माण भएको, बजार विस्तार भएको तथा रोजगारीको अवसर सिर्जना भएको विषयलाई बिर्सन नहुने स्मरण गराए । उनले विकास आयोजना प्रभावितलाई सरकारले मुआब्जा उपलब्ध गराउनुका साथै स्थानीय आयोजना प्रभावितले शेयर पाएको चर्चा पनि गरे । भएको सबै जग्गा/जमिन गुमाएकाहरुलाई सरकारले पुनस्र्थापना र पुनर्वासको व्यवस्था मिलाउनेबारे स्पष्ट पारे ।





