गृहपृष्ठ गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले लगाए सडक आयोजनामा ताला
गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले लगाए सडक आयोजनामा ताला
सुनसरी, २७ मंसिर। राष्ट्रिय गौरवको आयोजना रानी, इटहरी, धरान हुँदै चीनको सिमाना किमाथाङ्का जोड्ने ६ लेन सडक आयोजनाको मुख्य कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । आयोजनाले गुणस्तरीय काम भन्दा छिटो काम सक्ने गरी गुणस्तरहीन काम गरेको भन्दै उनीहरुले इटहरीमा रहेको कार्यालयमा ताला गरेका हुन् ।
आयोजना अन्तर्गत पर्ने इटहरीको मुख्य चोकमा पानी निकासका लागि ठेकेदार कम्पनीले होमपाइप राखेर काम अघि बढाउन खोजेको थियो । तर, स्थानीयले वर्षायाममा होमपाइपबाट पर्याप्त पानी निकास नहुने भन्दै कल्भर्ट राख्न माग गरेका थिए ।
गत वैशाखमा होमपाइप हाल्दा स्थानीयले विरोध गरेका थिए । विरोध गरेपछि ठेकेदार कम्पनी र आयोजनाले होमपाइप निकालेर स्लप्ट हालेर कल्भर्ट निर्माण गर्ने सहमति भएको थियो । तर, आयोजनाले ८ महिनापछि कल्भर्ट बनाउनुको सट्टा होमपाइप नै राखेर सडक कालोपत्रे गराउन लागेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले जबसम्म होमपाइप झिकेर कल्भर्ट बन्दैन तबसम्म कार्यालयमा लगाइएको ताला नखोल्ने अडान लिएका छन् । इटहरी नागरिक समाजका अध्यक्ष राजु केसीले आयोजनाले दु:ख दिएकै कारण तालाबन्दी गर्नु परेको बताए । ८ महिनासम्म स्थानीयको आवाज नसुनेपछि आन्दोलनमा उत्रिएको केसीको भनाइ छ ।
होमपाइप राखेर निर्माण अघि बढाएको ठेकेदार कम्पनीलाई आयोजनाले रकम भुक्तानी गर्नुले पनि आयोजना माथि थप प्रश्न उठेको उनको भनाइ छ । ‘हामीले आफैं आएर लाएका छैनौं वडा- ६ का जनप्रतिनिधि समेतको सहभागितामा ताला लगाएका छौँ’ उनले भने ।
त्यस्तै सडक संघर्ष समितिका संयोजक ज्ञानेन्द्र दाहालले आयोजनाको लापरबाहीले इटहरीवासी वर्षेनी डुब्ने गरेको आरोप लगाए । मुख्य चोक आसपास सामान्य वर्षाले डुबानको समस्या खेप्दै आएका स्थानीयलाई आयोजनालेसमेत पेलेर निर्माण अघि बढाएको उनको भनाइ छ ।
८ महिनासम्म आज हुन्छ, भोलि हुन्छ भन्दै ओठे आश्वासन आयोजनाले दिएको दाहालले बताए । उनले विवादित स्थानमा भएको निर्माणको तत्काल रकम भुक्तान गर्नुले आयोजना र ठेकेदार कम्पनीको मिलेमतो रहेको आरोप लगाए । ‘हिजोसम्म हामी गर्दिन्छौँ भन्ने तर, आज रातारात काम सक्न खोज्ने ?’ उनले भने ‘यसले के देखाउँछ भने ठेकेदार र आयोजनाको प्रस्ट मिलेमतो छ ।’ उनले तत्काल स्थानीयको माग सम्वोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
त्यस्तै आयोजनाका लेखा शाखा प्रमुख गुरुभक्त श्रेष्ठले होमपाइप बनाउने ठेकेदारलाई रकम भुक्तान गरिसकेकाले अब तत्काल नयाँ कल्भर्ट बन्नेमा शङ्का बढेको बताए । उनले भत्काएर नयाँ बनाउँदा लागत बढी उठ्ने र तोकेको बजेटले नपुग्ने भएकै कारण तत्काल बन्न नसक्ने बताए । उनले अब के गर्ने भन्नेबारे कार्यालयका इञ्जिनियर र प्रमुखसँग बसेर छलफलको माध्यमबाट समस्या सभाधानतर्फ लाग्नुपर्ने बताए ।
आयोजना कार्यालयले उक्त होमपाइप झिकेर कल्भर्ट बनाउने स्थानमा विवादकै कारण कालोपत्रे गर्न सकेको छैन । लामो समयदेखिको विवाद टुङ्गाउन नसक्दा राष्ट्रिय गौरवको आयोजना स्थानीयको घेराबन्दीमा पर्दै आएको छ ।
करिब ११ अर्ब लागतमा निर्माणाधीन सडक खण्ड २०८० सालसम्म सम्पन्न गरिसक्नु पर्ने छ । विराटनगरको रानीदेखि धरानसम्म ४२ किलोमिटर सडक मध्ये धरान र दुहबीमा विवादकै कारण ठेक्का लाग्न सकेको छैन । ठेक्का लागेका स्थानमा पनि समयमा काम सम्पन्न हुनेमा शङ्का बन्दै गएको छ । यस कारण आयोजनामाथि पटक-पटक प्रश्न उठ्दै आएको छ ।





