गृहपृष्ठ सिंगो शंकरनगर वनलाई वनवाटिका बनाऔं : मुख्यमन्त्री गिरी
सिंगो शंकरनगर वनलाई वनवाटिका बनाऔं : मुख्यमन्त्री गिरी
तिलोत्तमा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वनलाई वन वाटिकाका रुपमा विकास गर्न सकिने बताएका छन् । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) का परिकल्पनाकार र संस्थापक अध्यक्ष बाबुराम अर्यालको निधनको सातौं दिनको पुण्य तिथिमा आयोजित शोक सभा तथा श्रद्धाञ्जली अर्पण कार्यक्रममा मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् । स्वर्गीय अर्यालले सामुदायिक वनलाई पर्या पर्यटकीय क्षेत्र बनाएर पर्यटकीय गन्तव्य बनाई आम्दानी लिन सकिने र स्थानीय आर्थिक विकासमा योगदान दिन सकिने परिकल्पनासहित शंकरनगर सामुदायिक वनको ५१ हेक्टर झाडीलाई आकर्षक पर्यटकीय स्थल बनाएको चर्चा गर्दै सिंगो सामुदायिक वनलाई वन वाटिकाको रुपमा पर्यटकीय हिसाबले विकास गरेर देशकै नमूना पर्यटकीय स्थल बनाउन सकिने धारणा राखे । अर्यालसंगै वनवाटिकाका पुर्व उपाध्यक्ष स्वर्गीय केबी थापाको पनि वन वाटिकाको विकासमा उत्तिकै योगदान गरेको उनले बताए ।
‘सामुदायिक वनबाट भन्दा पर्यटकीय स्थल (वन वाटिका) बनाएर प्रदेश मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट लाखौं पर्यटक भित्राई राम्रो आम्दानी गर्न सकिन्छ’– मुख्यमन्त्री गिरीले भने–‘यसका लागि रुखहरु मास्नु पर्दैन, अझ परिष्कृत र राम्रो पर्यटकीय गन्तव्य बनाए पुग्छ ।’ मुख्यमन्त्री गिरीले स्वर्गीय बाबुराम वामपन्थी र प्रजातान्त्रिक आन्दोलनका महत्वपूर्ण अगुवा व्यक्तिसंगै पत्रकारिता र सामाजिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व भएको स्मरण गरे । अर्याल तत्कालीन शंकरनगर गाविसको उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री गिरीले स्मरण गरे ।
सो अवसरमा वन वाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थापक अध्यक्ष अर्यालसहित अग्रजहरुको अवधारणा, मेहनतका कारण वनवाटिका अहिले लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल बनेको भन्दै अर्यालको सम्मानमा थप कामहरु गर्दै उहांको सपना पुरा गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा रुपन्देही ५ का सांसद बासुदेव घिमिरे, मुख्यमन्त्री गिरीका प्रमुख राजनीतिक सल्लाहकार दधिराम न्यौपाने, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांण, शंकरनगर सामुदायिक वनका पदाधिकारी, राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वर्गीय अर्यालको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका वनवाटिकाका सचिव फर्सुराम भण्डारीले जानकारी दिए ।