२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ त्रि वि ले बन्द गरायो एक बर्षे बीएड, यस्तो छ नयाँ व्यवस्था (हेर्नुहोस्)

त्रि वि ले बन्द गरायो एक बर्षे बीएड, यस्तो छ नयाँ व्यवस्था (हेर्नुहोस्)

काठमाण्डौ।
सन् १९५६ बाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको एकवर्षे बीएड अकस्मात बन्द गरिएको छ । यसै वर्षदेखि लागू हुनेगरी त्रिभुवन विश्वविद्यालयले एकवर्षे बीएड कार्यक्रम बन्द गरेको जनाएको छ ।

शिक्षाशास्त्र संकाय डिन चित्रबहादुर बुढाथोकीका अनुसार क्याम्पसमा भर्ना गर्ने तर पढ्न नआई परीक्षा हलमा मात्र देखिने विद्यार्थीको प्रवृत्तिकै कारण त्रिविले यो कार्यक्रम बन्द गरेको हो । ‘विद्यार्थीहरू भर्ना गर्ने बेलामा धेरै हुने, कक्षाकोठामा नदेखिने र एकैचोटि परीक्षा हलमा देखिने ट्रेन्ड चलेपछि हामीले यो कार्यक्रम बन्द गरेका हौँ’, उनले भने ।

एकवर्षे बीएड कार्यक्रम सीप सिक्ने कार्यक्रम भएकाले प्राध्यापकबाटै पढ्नुपर्ने बुढाथोकी बताउँछन् । अन्य प्राविधिक विषयझैँ गरी पढ्नुपर्नेमा विद्यार्थी नै नआएपछि यसलाई बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘हामीले पनि पढाउँदै नपढाई विद्यार्थीहरू पास गराइरहेको जस्तो गरी कोर्सकै बदनाम भयो ।’

सुरुवातीकालमा यो विषय राम्रोसँग चलिरहे पनि वि।स। २०४६ सालपछि विभिन्न राजनीतिक तत्त्वका कारण बिग्रिएको बताउँछन्, शिक्षाशास्त्र संकाय प्रमुख तारादत्त भट्ट । तत्कालीन समयमा शिक्षकका लागि सामान्य तालिम दिने भनेर खोलिएको उक्त कार्यक्रमले २०२८ को नयाँ शिक्षा योजना आएसँगै औपचारिक रूप पायो । र, विभिन्न क्याम्पसहरूमा पढाउन सुरु गरिएको थियो ।

जुनसुकै विषयमा स्नातक गरेपछि पनि यो विषय पढ्न पाइन्थ्यो । माध्यमिक तहमा तालिमप्राप्त शिक्षक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको थियो । केही समयअघिसम्म त शिक्षक सेवा आयोगको परीक्षा दिन एकवर्षे बीएड अनिवार्य गराइएको भट्ट सम्झन्छन् ।

‘अलि अघिसम्म शिक्षकको रूपमा सरकारी नियुक्ति पाउन यो अनिवार्यजस्तै थियो । पछि अरु केके आएपछि अनिवार्यचाहिँ छैन’, भट्टले भने, ‘पछिल्लो समय त यो कार्यक्रम अन्तर्राष्ट्रिय समुदायमा पनि बदनाम भयो । त्यसैले अब नयाँ ढाँचामा यस्तै कार्यक्रम सुरु गर्दै छौँ ।’

भट्टले भनेको नयाँ ढाँचाचाहिँ यही कोर्सलाई थप व्यवस्थित गरेर सेमेस्टर प्रणालीमा लागू गर्ने हो । जसको कार्यढाँचा बनाउन त्रिविले शिक्षाशास्त्र संकायका सहायक डिन विष्णुप्रसाद खनालको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन गरेको छ । कमिटीभित्र प्राध्यापक गणेश सिंह, रामनाथ ओझा र भट्टसहित अन्य दुईजना छन् ।

भट्टका अनुसार सेमेस्टर प्रणालीमा यस्तै कार्यक्रम कसरी चलाउने भनेर समितिले अध्ययन गर्दैछ । यही वर्षबाट सुरु गर्ने गरी सम्भवतः १५–२० दिनभित्र कार्यढाँचा बनाइसक्ने उनले बताए ।न्युज भण्डारबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार