गृहपृष्ठ श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
तिलोत्तमा । रूपन्देही, तिलोत्तमा–११ स्थित श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिमा तिलोत्तमा नगरपालिका वडा नं. ११ का सदस्य तथा नगर कार्यपालिका सदस्य राधा शाही रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष्य प्रेम कनौजे मगरले गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटा, पूर्व अध्यक्षहरू टेक बहादुर थापा र तेज बहादुर कुँवर, सल्लाहकारहरू विष्णु कुमार थापा र यम बहादुर दर्जी तथा ६ वटा टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यता रहेको थियो।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक सापकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विभिन्न वक्ताहरूले विद्यालयको प्रगति तथा आगामी योजनाबारे प्रकाश पार्दै सफलताको कामना गर्नुभएको थियो । प्रमुख अतिथि शाहीले विद्यालयको सर्वाङ्गीण विकासका लागि शुभकामना व्यक्त गर्नुभयो भने अध्यक्ष प्रेम कनौजे मगरले विद्यालयको विकासमा अझ दृढताका साथ लागिरहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, २०८२ सालभरि सञ्चालन भएका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो।
यसैगरी, गत एसईई परीक्षामा १०० प्रतिशत नतिजा हासिल गराउन सफल शिक्षकहरूलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो त्यससंगै विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा पुरस्कार वितरणसँगै सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

कार्यक्रमको सञ्चालन शिक्षक बाबुराम खनालले गर्नुभएको थियो भने सहजीकरण मनकुमारी आचार्य र जगन्नाथ बस्यालले गर्नुभएको थियो। स्वागत मन्तव्य सहायक प्रधानाध्यापक मिना रिजालले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी इच्छा सारु लगायतले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
फोटो फिचर :












