गृहपृष्ठ नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम
नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम
नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ ।
जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ । आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि सबै लगानीकर्ताहरुले कमाउन सकेनन् ।बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहका लगानीकर्ता हरुले गुमाएका छन् । बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले भने कमाएका छन् ।यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब ५ प्रतिशतले बढेको छ ।






