गृहपृष्ठ बिज्ञप्ति निकाल्दै तिलोत्तमामा छुट्टियो ओली गुट
बिज्ञप्ति निकाल्दै तिलोत्तमामा छुट्टियो ओली गुट
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २ वडाका वडाध्यक्ष र ३ कार्यपालिका सदस्यसहित पाँचजनाले नगरपालिकाको लेटरप्याडमा बिज्ञप्ति निकालेको प्रति दुरुपयोगको आरोप लगाएका छन् । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै नगर कार्यपालिकाको नामबाट विज्ञप्ती जारी गरेको भन्दै उनीहरुले त्यसप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तामनाथ पाण्डे, वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङ, कार्यपालिका सदस्यहरु राधा शाही, लक्ष्मण नेपाली र गीतादेवी सापकोटाले सादापेजमा संयुक्त विज्ञप्ती जारी गर्दै सो अनाधिकृत काम गरेको भन्दै असहमति प्रकट गरेका हुन् ।
‘आफ्नो व्यक्तिगत धारणा र विचारलाई अनधिकृत रुपमा नगरपालिकाको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरी विज्ञप्ती निकाल्ने अधिकार नगरप्रमुखलाई कसरि भयो ? भन्दै यसप्रति असहमति जनाएका हुन् । विज्ञप्तीमा नगरपालिका सबैको साझा स्थानीय सरकार रहेको संवैधानिक मूल्य मान्यतालाई कुल्चेर पदीय आचरणविपरीत संघीय सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति कसैको नीहित स्वार्थ सिद्ध गर्ने उद्देश्यले संस्थाकै लेटरप्याड र नेपाल सरकारको निशान छाप प्रयोग गर्ने कुराले नगरपालिकाकै शिर निहुराएको पनि उल्लेख गरिएको छ ।
संघ, प्रदेश र स्थानीय तहका आ–आफ्नै अधिकार क्षेत्र रहेको र प्रतिनिधिसभा विघटन संघीय सरकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै विज्ञप्तीमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदाहुँदै नगरपालिकाकै नामबाट विज्ञप्ती जारी गर्नु कुनै पनि अर्थमा न्यायोचित नभएको उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा निर्वाचनमार्फत ताजा जनादेश लिने कुरा सबैभन्दा लोकतन्त्रिक भएकाले यसको विरोध गर्नुको कुनै औचित्य नरहेको पनि उल्लेख छ ।






