गृहपृष्ठ ‘३० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा, मर्जको नीति चाहियो’
‘३० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा, मर्जको नीति चाहियो’
कोरोना महामारीका निजी विद्यालय बन्द हुने अवस्थामा पुगेकाले सरकारले मर्जको नीति ल्याउनुपर्ने निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताएका छन् ।
नौ महिना सञ्चालन नभएका करिब ३० प्रतिशत निजी विद्यालय नयाँ शैक्षिक सत्रबाट बन्द हुने अवस्थामा पुगेकाले मर्जको नीति ल्याउनु पर्ने बताएका हुन ।
‘सरकारले सामुदायिक विद्यालय मर्जको नीति ल्याएको छ । अब निजी विद्यालय मर्जमा सहुलियतको नीति ल्याउनुपर्छ ।’ कोसी अनलाइनसँग पुरीले भने, ‘२० देखि ३० प्रतिशत विद्यालय नयाँ शैक्षिक सत्रबाट बन्द हुने अवस्थामा पुगेका छन् । मर्जको नीति ल्याएर सरकारले प्रोत्साहन गर्नु पर्छ ।’ निजी विद्यालय मर्जको नीति ल्याउनका लागि प्याब्सनले पहल गरिरहेको उनले बताए ।
नयाँ सत्रमा विद्यार्थी घट्छन्, शुल्क बढ्दैन
अध्यक्ष पुरीका अनुसार कोरोना महामारीका कारण वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रमा निजी विद्यालयले शुल्क बढाउने बताएका छन् । चालु शैक्षिक सत्रमा विद्यालयले लिने शुल्क घटेको बताउँदै उनले नयाँ शैक्षिक सत्रमा शुल्क नबढ्ने बताएका हुन् ।
‘चालु शैक्षिक सत्रमा विद्यायलहरुले लिँदै आएका वर्षिक अतिरिक्त शुल्क लिएका छैनन्,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रमा शुल्क बढ्दैन ।’ शुल्कका विषयमा केन्द्रीय समितिको बैठकमार्फत् थप निर्णय हुने उनले बताए ।
पुरीका अनुसार नयाँ शैक्षिक सत्रबाट निजी विद्यालय आउने विद्यार्थीको सङ्ख्या पनि घट्ने सम्भावना छ । कोरोनाका कारण धेरै अभिभावकको रोजगारी गुमेको बताउँदै उनले विद्यार्थीको संख्या घट्न सक्ने बताए ।
सरकारको नीतिले केही सहज भयो
सरकारले ल्याएको मौद्रिक नीतिले निजी तथा संस्थागत विद्यालयहरुलाई केही राहत मिलेको उनले बताए । मौद्रिक नीतिले बैङ्कबाट ऋण लिएर सञ्चालन भएका संस्थागतलाई सहज भएको उनको भनाइ छ ।
‘भर्खरै संस्थागत ऋणीलाई आगामी आर्थिक वर्षसम्म कालोसूचीमा नराख्न राष्ट्र बैङ्कले बैङ्कहरुलाई निर्देशन जारी गरेको छ,’ उनले भने, ‘यो निर्देशनले धेरै राहत मिलेको छ ।’
शिक्षकलाई तलब खुलाउन बैङ्कहरुले सामुहिक जमानीमा ऋण लगानी गरेका कारण केही सहज भएको उनले बताए । ‘मेघा बैङ्क र प्राइम बैङ्कले सामुहिक जमानीमा निजी विद्यालयका लागि ऋण दिने व्यवस्था गरेको छ,’ उनले भने, ‘यो व्यवस्थाले शिक्षक कर्मचारीलाई तलब खुवाउनका लागि सहज हुनेछ ।’






