गृहपृष्ठ कोरोनाको औषधी बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन….
कोरोनाको औषधी बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन….
भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधीबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधीको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा। गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए ।
डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधीको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको खबर सुन्नसाथ जडिबुटीबाट औषधी बनाउन आफूले अध्ययन थालेको उनले बताए । २५ सय वर्षपहिले अत्रि ऋषिले पत्ता लगाएको सूत्रअनुसार श्वासप्रश्वास र पाचन नलीमा हुने रोग निको पार्न प्रयोग गरिएको जडिबुटी नै कोरोना भाइरसको औषधि बन्नसक्ने ठानेर सोही विधिअनुसार औषधी तयार पारेको डा। गौतमले बताए ।
निजीरूपमा १५ लाख रुपैयाँ खर्च गरेर ‘अर्कबटी’ आयुर्वेदिक औषधि तयार पारेको उनको भनाइ छ । डा. गौतमका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि उनको नाकमा मासु पलाएको थियो । साथीहरूले उपचारका लागि भारत जान सुझाएका थिए । उनले भने, ‘मैले आफैँ औषधि बनाएर प्रयोग गरेँ, ५ दिनमै नाकको घाउ निको भयो, रुघाखोकी लागेका बिरामी निको भए ।’ कोरोना भाइरस देखिएपछि उनले औषधि बनाएर प्रचार नगरी चिनेका साथीहरूलाई दिए । उनीहरूलाई ठिक भयो । भारतबाट आएका आफ्ना साथीहरूलाई पनि दिए । सबै निको भए, माग बढदै गयो ।






