२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ गाउँमा पनि द्रुत गतिमा फैलिदै कोरोना

गाउँमा पनि द्रुत गतिमा फैलिदै कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ।

भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहेका छन्।

धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौंसहित उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांक कुनै निकायले राखेको छैन। गाउँ–गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भए पनि परीक्षण गर्ने नहुँदा समस्या भएको स्थानीयले बताएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि हिमाली गाउँपालिका सिल गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत्त राजबहादुर भण्डारीले गाउँपालिकाका ६ कर्मचारी, स्वास्थ्य शाखाका ४ स्वास्थ्यकर्मी र तीन स्थानीयलाई पोजिटिभ देखिएको बताए।

२७ जनालाई एन्टिजेन बिधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको भण्डारीको भनाइ छ। भण्डारी पनि कोरोना संक्रमित भएर आइसोलेसनमा उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालयबाट २५ एन्टिजेन किट उपलब्ध भएपछि जाँच गर्दा ११ जना पोजेटिभ भेटिएका छन्। उनले कोरोना जाँच गरिए धेरै संक्रमित हुन सक्ने बताए।

जिल्लाभरि कोरोनाको लक्षण भएका बिरामी गाउँ–गाउँमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। एन्टिजेन किट थोरै रहेकाले लक्षण भएकालाई मात्रै जाँच गर्ने गरेको कार्यालय जनाएको छ। गाउँमा कोरोनाजस्तो लक्षण भएका बिरामी धेरै रहे पनि चेकजाँच नभएको खप्तडछेडेदह गाउँपालिका–१ का धन रोकायाले बताए।

जिल्लामा पीसीआर मेसिन नहुँदा चेकजाँचमा समस्या भएको छ। सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा पीसीआर जाँच गर्ने मेसिनको व्यवस्थापन भइसकेको छ।

बुढीगंगा नगरपालिकाले गत वर्ष नै पीसीआर मेसिन खरिदका लागि २० लाख विनियोजन गरेको थियो। अन्य स्थानीय तहले बजेट विनियोजन नगर्दा त्यो बेला पीसीआर खरिद गर्न नसकिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार