गृहपृष्ठ गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा
गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा
गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार निषेधाज्ञाको पहिलो दिन सडकमा निकालिएका ३५ वटा मोटरसाइकल र चार वटा जीपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञामा तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचकका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई चिदिचौरमा राखिएको छ ।

निषेधाज्ञा उल्लंघन गरी सवारी साधन चलाएकाले आवश्यक प्रक्रिया पुर्याएर छाडिने आचार्यले बताए ।
कोरोना संक्रमण तीव्र रुपमा बढेपछि गुल्मीमा गएरातिदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक अन्य सम्पूर्ण सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।
निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोकोहीलाई प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।





