गृहपृष्ठ औषधी र स्वाथ्यकर्मी लिएर मेयर पुगे कोरोना संक्रमितको घरघरमै
औषधी र स्वाथ्यकर्मी लिएर मेयर पुगे कोरोना संक्रमितको घरघरमै
बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदी स्वास्थ्यकर्मी र आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा पुगेका छन् । कोभिडको संक्रमणमा परेर बुटवलमा आइसोलेशनमा बसेका नागरिकलाई घरघरमै पुगेर आयुर्वेद ओखती प्रदान गर्ने र उनीहरुको मनोबल बढाउने काम भइरहेको छ । महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयंको उच्च मनोबल हो रहेछ, यसैलाई कसरी बढाउन सकिन्छ भनेर घरदैलोमै पुगेर ढाडस दिने काम सुरु गरिएको हो’ प्रमुख सुवेदीले भने ।
बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनाल, सदस्य सुष्मा अर्यालसहित स्वास्थ्यकर्मीलाई लिएर शुक्रबार बिहान देवीनगरको चौराली टोलमा घरमै आइसोलेशन बसेका संक्रमितलाई भेट्दै प्रमुख सुवेदीले मनोबल उच्च राख्न आग्रह गरे । कुनै पनि स्वास्थ्य समस्या उत्पन्न भएमा तत्कालै सम्पर्क गर्न भन्दै उनले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसमेतको फोन नम्बर लेखिएको पत्र दिए ।
घरदैलो अभियानमा रहेका प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी र उनीहरुलाई सघाउने स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघसंस्था र निजी क्षेत्रसमेत छन् ।
संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्ने काममा यहाँका सामाजिक संघसंस्था र नागरिक अगुवाहरुले समेत प्रशंसा गरेका छन् ।हालसम्म करिब ६ हजार जनाको घरदैलोमा पुगेर आयुर्वेद ओखती प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको नियमित जानकारी लिइएको छ ।
समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधी खोजी र उद्धारदेखि राहत वितरणलाई समेत संगसंगै सञ्चालन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।बुटवल उपमहानगरमा हालसम्म ९ हजार संक्रमित भएको तथ्यांक छ । अधिकांशले संक्रमण जितेका छन् । संक्रमित भएका, लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरूको दैनिक निःशुल्क रूपमा परीक्षण भइरहेको उपमहानगरका स्वास्थ्य शाखाबाट परीक्षणको समन्वय गरिरहेकी स्वास्थ्यकर्मी गीता पाण्डेले बताइन ।
आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब ६ हजार जनालाई आयुर्वेद ओखती वितरण गरिएको छ । सात्त्विक भोजन, योगाभ्यास र सकारात्मक सोच राख्न भन्दै प्रमुखको सन्देशसहित अपिललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, युवराज पाण्डे, कल्पना भट्टराई, वैद्य निरिक्षक यमलाल भुसाल सहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोल स्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ ।





